माेरङ क्षेत्र नम्बर ४ मा जीवन घिमिरेले सके पहिलो चरणको घरदैलो

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १८:०७

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) उम्मेदवार जीवन घिमिरेले पहिलो चरणको चुनावी अभियान सकेका छन् । फागुन १३ गतेसम्म निर्वाचन क्षेत्रका २३ वटै वडामा घरदैलो गरेका हुन् । घरदैलोमा जनस्तरबाट अभूतपूर्व समर्थन प्राप्त भएको उनले बताए ।

अभियानको समीक्षा गर्दै घिमिरेले पहिलो चरणमा २० हजारभन्दा बढी घरसम्म पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरेको बताए । ‘२३ वटै वडाका घरआँगनमा पुग्दा मतदाताहरूले जुन किसिमको न्यानो स्वागत, माया र अटूट भरोसा प्रकट गर्नुभयो, त्यसले हामीलाई उत्साहित बनाएको छ,’ घिमिरेले भने,‘जनताको यो उत्साहले हामीलाई उच्च बहुमतका साथ विजयी हुने कुरामा पूर्ण रूपमा ढुक्क बनाएको छ ।’

चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले मोरङ ४ मा सांगठन परिचालन तिब्र बनाएको छ । २३ वटा वडा स्तरीय परिचालन समितिसहित क्षेत्रीय परिचालन समिति, प्रचारप्रसार, सामाजिक सञ्जाल, युवा, महिला र पेशागत क्लस्टर गरी विभिन्न उपसमिति सक्रिय रहेको उनले बताए ।

पहिलो चरणको घरदैलोको समापनसँगै घिमिरेले अब दोस्रो चरणको विशेष अभियान सुरु हुने जानकारी दिए । दोस्रो चरणमा अभियानलाई परिणाममुखी बनाइने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.