डायरीमा टिपिँदै मोरङ–१ को आवाज : मतदाताको आशा, फागोको प्रतिबद्धता

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १८:५७

उर्लाबारी । मोरङको निर्वाचन क्षेत्र नम्बर १ यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलले तातेको छ । गाउँगाउँ, बस्तीबस्तीमा राजनीतिक भेटघाट र छलफल भइरहेका छन् ।

यही सन्दर्भमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग फागो घरदैलो अभियानमा सक्रिय छन् । तर, कांग्रेसको चुनावी अभियानका क्रममा एउटा विशेष दृश्यले धेरैको ध्यान तानेको छ । त्यो दृश्य हो, आफ्नो हातमा सधैं रहने सानो डायरीमा मतदाताको आवाज टिप्दै जाने फागोको शैली ।

उनको चुनावी अभियान भाषणमा मात्रै सीमित छैन । उनी पुग्ने प्रत्येक स्थानमा औपचारिकता कम र संवाद बढी हुन्छ । स्थानीयसँग घेरिएर बस्ने, उनीहरूको समस्या ध्यानपूर्वक सुन्ने, बीचबीचमा प्रश्न सोध्ने र अन्त्यमा आफ्नै हातले डायरीमा टिप्ने शैलीले फागोलाई अन्य उम्मेदवारभन्दा फरक पहिचान दिएको छ ।

केराबारीका किसानसँगको भेटमा उत्पादनको लागत बढ्दो भए पनि बजार मूल्य स्थिर नहुँदा भोग्नु परेको समस्याका बारेमा खुला छलफल भयो । किसानहरूले सिँचाइको असुविधा, मलखाद आपूर्तिको अनियमितता र बिचौलियाको दबाबका बारेमा गुनासा राखे । फागोले सबै कुरा क्रमशः टिपे र कृषि उत्पादनको सुनिश्चित बजार तथा सहकारी सुदृढीकरणको आवश्यकता औंल्याए ।

पहिलोपटक आफ्ना कुरा यति व्यवस्थित रूपमा लेखिँदै र टिपिँदै गएको देख्दा स्थानीयले उत्साह व्यक्त गरे । लेटाङका युवासँगको संवाद फरक ढंगको थियो । त्यहाँ रोजगारीको अभाव, सिप विकासमा अवसरको कमी र विदेश पलायनको बाध्यता मुख्य मुद्दा बने ।

युवाहरूले स्पष्ट शब्दमा भने, ‘हामीलाई भाषण होइन । अवसर चाहिएको हो ।’ फागोले युवा उद्यमशीलता प्रवर्धन, प्राविधिक तालिम केन्द्र विस्तार र निजी क्षेत्रसँग सहकार्य गरी रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए । उनले युवाका सुझावलाई आफ्नो भावी नीतिको आधार बनाउने प्रतिबद्धता दोहोर्‍याए ।

मिक्लाजुङका दुर्गम बस्तीमा पुगेका बेला सडक, स्वास्थ्य र शिक्षाको पहुँच मुख्य विषय बनेका थिए । स्थानीयले वर्षौंदेखि अधुरो रहेका सडक आयोजना, पर्याप्त स्वास्थ्यकर्मी अभाव र विद्यालयमा गुणस्तरीय शिक्षाको कमीबारे चिन्ता व्यक्त गरे ।

फागोले ग्रामीण विकासलाई प्राथमिकतामा राख्ने स्पष्ट धारणा राख्दै विकास सहरमा मात्र सीमित हुनु नहुने बताए । उनले दुर्गम क्षेत्रका समस्या छुट्टै कार्ययोजनामार्फत सम्बोधन गर्ने आश्वासन दिए ।

उर्लाबारीमा व्यवसायी, कर्मचारी, महिला समूह र ज्येष्ठ नागरिकसँगको भेटमा सुशासन र पारदर्शिताको मुद्दा उठ्यो । व्यवसायीहरूले कर प्रणालीको जटिलता र प्रशासनिक ढिलासुस्तीका बारेमा गुनासा राखे भने महिला समूहले उद्यमका लागि सहुलियत ऋण र तालिमको माग गरे । ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ताको प्रभावकारी व्यवस्थापन र स्वास्थ्य सेवामा सहुलियतको विषय उठाए । ती सबै विषय डायरीमा क्रमबद्ध रूपमा टिपिँदै गए ।

फागोको अभियानमा देखिएको अर्को उल्लेखनीय पक्ष भनेको ‘फलोअप’ हो । भेटघाटपछि समस्याको प्रगति बुझ्न सम्बन्धित निकायसँग समन्वय गर्ने र गुनासो राख्ने व्यक्तिलाई जानकारी गराउने उनको बानीले स्थानीय तहमा विश्वास बढाएको कांग्रेसका नेता कार्यकर्ता बताउँछन् । केही स्थानमा मतदाताले खुलेरै भने, ‘पहिलोपटक हाम्रो कुरा सुनेर उम्मेदवारको डायरीमा लेखियो । त्यसले निक्कै आशा पलाएको छ ।’

निर्वाचनको माहोलमा धेरै उम्मेदवारले आकर्षक नारा दिएर ठूला वाचा गर्छन् । तर, फागोले घोषणा पत्रलाई जनताको सामूहिक दस्तावेज बनाउनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरेका छन् । उनका अनुसार घोषणा पत्र नेताको एकतर्फी योजना नभई जनताको अपेक्षा र सुझावको समष्टि हुनुपर्छ । यही सोचले उनलाई संवादमुखी उम्मेदवारका रूपमा उभ्याएको छ ।

उनको सहज व्यवहारको पनि चर्चा भइरहेको छ । किसान, मजदुर, विद्यार्थी, व्यापारी वा कर्मचारी जो कोहीसँग पनि उनी समान ढंगले कुरा गर्छन् । भेटघाटमा कुनै औपचारिक अवरोध छैन । यही खुलापनले नेता र जनताबीचको दूरी घटाएको अनुभूति मतदाताले गरेका छन् ।

यदि नेतृत्व जवाफदेही भयो भने परिवर्तन सम्भव छ भन्ने साझा चर्चा मोरङ–१ मा छ । फागोप्रति बढ्दो विश्वासको कारण पनि यही उत्तरदायित्वको संकेत हो भन्ने स्थानीयको बुझाइ छ ।

उनको सानो डायरी अहिले प्रतीकजस्तै बनेको छ । त्यो ‘नोटबुक’ मात्रै नभएर स्थानीय समस्याको अभिलेख हो । त्यहाँ टिपिएका शब्दहरू किसानको पसिना, युवाको अपेक्षा, महिला उद्यमीको योजना र ज्येष्ठ नागरिकको सुरक्षाको चाहनासँग जोडिएका छन् ।

निर्वाचन अभियानका क्रममा देखिएको यो शैलीले मोरङ–१ मा नयाँ प्रकारको राजनीतिक संस्कृतिको संकेत दिएको विश्लेषकहरूको भनाइ छ । जहाँ भाषणभन्दा संवाद, वाचाभन्दा कार्ययोजना र प्रचारभन्दा विश्वासलाई प्राथमिकता दिइन्छ ।

अन्ततः, मोरङ–१ मा जारी यो अभियान मत माग्ने कार्यक्रम मात्रै नभई मतदातासँगको सम्बन्ध सुदृढ गर्ने अभ्यासका रूपमा देखिएको छ । प्रत्येक भेटघाट, छलफल र नोटले एउटा सन्देश दिइरहेको छ, ‘नेतृत्वले सुन्न जान्यो भने मात्र जनतामैत्री नीति बन्छ ।’

मोरङ–१ का मतदाताले लिने निर्णयको छिनोफानो भने फागुन २१ गतेको निर्वाचनले गर्ने छ । तर, अहिले देखिएको दृश्यले सानो डायरीमा टिपिँदै गएको मतदाताको आवाजले ठूलो भरोसाको आधार तयार गरिरहेको स्पष्ट हुन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.