भानुभक्तले छाडेको क्षेत्रमा इरन राई : सुकुम्बासी समस्या र दोहोरो स्वामित्व विवाद समाधान पहिलो मुद्दा

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार ०८:५३

विराटनगर । मोरङको क्षेत्र नम्बर ३ मा सुकुम्बासी समस्या र दोहोरो स्वामित्व विवाद छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का सचिव भानुभक्त ढकालले यही मुद्दालाई मुख्य एजेन्डा बनाएका थिए ।

उनले सार्वजनिक रूपमै भनेका थिए, ‘अर्को पटक निर्वाचन आउँदा उम्मेदवारले सुकुम्बासीको समस्या उठाउनै नपर्ने गरी समाधान गर्छु ।’ तर, ५ वर्ष बित्यो, ढकाल मन्त्री पनि बने । तर, समस्या भने जस्ताको तस्तै रह्यो ।

२०७९ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट उम्मेदवार बनेर सुकुम्बासी बस्तीमा छिर्दा उनैलाई पुरानो बाचाले गिज्यायो । नतिजास्वरुप पराजय भोग्नु पर्‍यो । अहिले मोरङ–३ छाडेर ढकाल तेह्रथुमबाट उम्मेदवार बनेका छन् ।

उनले २०७४ र २०७९ सालमा चुनाव लडेको क्षेत्र मोरङ–३ बाट अहिले एमालेका इरन राई उम्मेदवार छन् । राईले तिनै मतदाताको प्रश्न झेलिरहेका छन् । वर्षौंदेखिको समस्या समाधान नभएका कारण उनलाई मतदाताले ‘दोहोरो स्वामित्व विवाद कहिले अन्त्य हुन्छ ?’ भन्दै प्रश्न गरिरहेका छन् ।

उम्मेदवार राई दोहोरो स्वामित्व र सुकुम्बासी समस्या समाधान नहुनुको कारण अस्थिर सरकारलाई देख्छन् । ‘२०७४ मात्र होइन, २०५१ सालमा त्यतिखेर तत्कालीन हाम्रो अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले पहिलो चोटी नेपालमा सुकुम्बासी समस्या समाधान आयोग बनाएको थियो । ऋषिराज लुम्सालीको संयोजकत्वमा र मोरङमा लालबाबु पण्डित हुनु हुन्थ्यो,’ उनले भने, ‘त्यहाँदेखि नै हामीले देशका अन्य क्षेत्रमा जस्तै मोरङका हरेक ठाउँहरूमा हामीले पुगेर नापी गरेका थियौं । तर, सरकार काम नलाग्ने भनेर अविश्वास पारित गरिएपछि यो देशमा संकट सुरु भयो ।’

निर्वाचन लक्षित ‘घरदैलो’ अभियानका क्रममा राईले सुकुम्बासी समस्या समाधान गर्ने बताउँदै आएका छन् । ‘हाम्रो क्षेत्रमा सुकुम्बासी र दोहोरो स्वामित्वको समस्या अत्यन्त जटिल छ,’ उनले भने, ‘अहिलेको ऐन कानुनले मात्र यो समस्या समाधान गर्न नसकिने देखिएकाले हामी विशेष कानुन निर्माण गरेरै भए पनि यसलाई टुङ्ग्याउने छौँ ।’

राईले वि‍क्रम संवत २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमाले सरकारले पहिलो पटक सुकुम्बासी आयोग बनाएर नापीको काम अघि बढाएको स्मरण गराए । ‘धेरै नागरिकले निस्सा पाइसक्नु भएको छ । जुन पुर्जा पाउने पहिलो आधार हो,’ उनले भन्ने गरेका छन्, ‘अबको कार्यकालमा ती निस्सालाई लालपुर्जामा बदल्न म संसद्‌मा प्रभावकारी भूमिका खेल्नेछु ।’

सुकुम्बासी समस्याका अतिरिक्त राईले मोरङ— ३ को समग्र विकासका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई स्थानीय स्तरमा कार्यान्वयन गर्ने बताए । पूर्व–पश्चिम लोकमार्गको सौन्दर्यीकरण, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र भौतिक पूर्वाधार निर्माणलाई उनले प्राथमिकतामा राखेका छन् ।

केही समयअघि प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका सुनील शर्मासँगको भेटको तस्बिर सार्वजनिक भएपछि उठेका प्रश्नहरूको खण्डन गर्दै उनले त्यसलाई राजनीतिक संस्कार र सौहार्दता रहेको बताए । राईले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

राईसँग कांग्रेसका शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश कार्कीलगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् । पछिल्लो समय देशभर चुनावी माहोल तात्दै गर्दा मोरङ–३ मा पनि निर्वाचनको उत्साह छ । उम्मेदवारहरु चुनावी अभियान चलाएर भोट माग्न मतदाताको घरघरमा पुगिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.