
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई निर्वाचन आयोगले कारबाही गर्ने निर्णय गरेको छ ।
केन्दीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भूसाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
श्रम शक्ति पार्टीलाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन शमशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरिएको जानकारी दिए ।
‘आचारसंहिता उल्लङ्घनको उजुरी परेका छन् । उजरी परेर मात्र पनि हुँदैन आयोगलाई कारबाही गर्नको लागि प्रमाण पनि चाहिन्छ । मान्छेले कसैलाई दु:ख दिनको लागि पनि बिना प्रमाण अरुको नाम पोलिदिन पनि सक्छ । अहिले हामीले दुई जना उम्मेदवारलाई र एक राजनीतिक दललाई २५ हजार जरिवाना तिराएका छौं,’ उनले भने ।
























