
रतुवामाई । मोरङको सुनवर्षी नगरपालिका–८ हरिचन्द्रगढीस्थित रहमान टोलको सिंगो मुस्लिम बस्तीले नेपाली कांग्रेस परित्याग गरेको छ ।
कांग्रेस छाडेकाहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । बिहीबार साँझ नेपाल मुस्लिम इत्तेहाद संगठनले आयोजना गरेको निर्वाचन लक्षित भेलाका क्रममा उनीहरु वषौंदेखिको कांग्रेसको आबद्धता त्यागेर एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई मोरङको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिलिप बगडियाले एमालेमा स्वागत गरे । यस क्षेत्रका पुराना कांग्रेस कार्यकर्ता उल्ला उदिन, मोहमद लोकमान, जबारुन मिया लगायतको नेतृत्वमा सिंगो गाउँ एमाले प्रवेश गरेको पार्टीले जनाएको छ ।
बगडियाले स्वागतका क्रममा उनीहरुलाई आगामी निर्वाचनमा एमालेको पक्षमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले एमाले सरकार र नेतृत्वले विकास, सुशासन एवं समावेशीताका क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै सबै समुदायलाई सम्मान र अवसर दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य रुपनारायण मिश्र, मोरङ सचिवालय सदस्य शंकर थापा तथा जिल्ला सदस्य एवं नेपाल मुस्लिम इत्तेहाद संगठनका नेता अजिम आलमलगायतको उपस्थिति रहेको थियो । मुस्लिम संगठनका नेता आलमले मुस्लिम समुदायको सामूहिक प्रवेशले मोरङमा एमालेको संगठन अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
























