
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका अमनलाल मोदी विराटनगर महानगरपालिका–१० तीनटोलियामा आयोजित बुद्धिजीवी संवाद कार्यक्रममा केहीबेर निरुत्तर बने ।
बिहीबार अपरान्ह करिब ३ बजेदेखि झण्डै एक घण्टाको समय छुट्याएर आयोजना गरिएको उक्त छलफलको सुरुवातमा माओवादीका पूर्वनेता मोदीले सांसद हुँदाका आफूले गरेका काम तथा गतिविधि प्रस्तुत गरे । तर, कार्यक्रमको अन्त्यतिर उठेको गम्भीर राजनीतिक प्रश्नले माहोल एकाएक गहिरो र असहज बनायो ।
कार्यक्रमको प्रारम्भमा मोदीले विघटित प्रतिनिधिसभामा आफूले उठाएका मुद्दाहरूको भिडियो क्लिप प्रस्तुत गरे । तत्कालीन प्रतिनिधिसभाको कान्छो सांसदको रूपमा आफूले क्षेत्र नम्बर ४ अन्तर्गत विराटनगरको ढल व्यवस्थापन, सडक पूर्वाधार, शिक्षा र स्थानीय विकाससँग सम्बन्धित विषयहरू सदनमा जोडदार रूपमा उठाएको दाबी उनले गरे ।
भिडियो प्रस्तुतीकरणमार्फत उनले संसदमा बोलेका अंशहरू, ध्यानाकर्षण गराएका प्रसंगहरू र विकासका सवालहरूलाई देखाउँदै आफू विकासप्रति प्रतिबद्ध रहेको सन्देश दिन खोजेका थिए । भिडियो प्रदर्शनपछि बोल्दै मोदीले भने, ‘मैले संसदमा विराटनगरको ढल व्यवस्थापनदेखि शिक्षासम्मका विषयमा आवाज उठाएँ । जनताको समस्या संसदमा पुर्याउने काम मैले निरन्तर गरिरहेँ ।’
उनले आफूले उठाएका विषयले राष्ट्रिय स्तरमा समेत ध्यान खिचेको दाबी गर्दै पुनः निर्वाचित भए अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । तर, छलफल खुला प्रश्नोत्तरमा प्रवेश गरेसँगै कार्यक्रमको स्वरूप परिवर्तन भयो । पूर्वाञ्चल विश्वविद्यालयका पूर्वडीन प्रा.डा खगेन्द्र आचार्यले उठाएको प्रश्नले वातावरण एकाएक गम्भीर बनायो ।
प्रा.डा आचार्यले १० बर्से सशस्त्र द्वन्द्वदेखि विभिन्न राजनीतिक संघर्षका क्रममा ज्यान गुमाएकाहरूको जिम्मेवारीबारे प्रश्न उठाउँदै भने, ‘हिजोको दिनको नेकपा (माओवादी केन्द्र) विघटन भइसकेको छ । तपाईं पनि त्यसमा पर्नु भएको छ । तपाईं आफैं संघर्ष गरेको मान्छे । भोलि के कारण त्यो पार्टी नै विघटन भयो भन्ने कुराको जवाफ दिनुपर्ला नि ? यहाँ त गम्भीर विषय छ । माओवाद नै छाड्नुपर्ने अवस्था किन आयो ? यतिबेला हामी पनि रनभुल्लमा छौं ।’
प्रा.डा आचार्यको प्रश्न सिधै राजनीतिक विचारधारा, ऐतिहासिक संघर्ष र पार्टी विघटनको संवेदनशील प्रसंगसँग जोडिएको थियो । कार्यक्रममा सहभागी १४ जना बुद्धिजीवीमध्ये धेरैले उक्त प्रश्नलाई ध्यानपूर्वक सुनेका थिए । केहीबेर मौनता छाएको हलमा सबैको नजर मोदीतर्फ केन्द्रित भएको थियो ।
प्रश्नको जवाफमा मोदीले प्रत्यक्ष रूपमा माओवादी आन्दोलन, पार्टी विघटन वा संघर्षकालीन जिम्मेवारीबारे स्पष्ट उत्तर दिनुभन्दा राष्ट्रिय राजनीतिका विभिन्न उतारचढाव, संविधान निर्माण प्रक्रिया, गठबन्धन राजनीति र समसामयिक चुनौतीहरूको उदाहरण प्रस्तुत गर्न थाले ।
उनले राजनीतिक परिवर्तनलाई समयअनुसार हुने स्वाभाविक प्रक्रिया भन्दै विचारधाराको विकास र रूपान्तरणलाई सकारात्मक रूपमा व्याख्या गर्ने प्रयास गरे । तर, प्रा.डा आचार्यले उठाएको मूल प्रश्न माओवादी आन्दोलनको विघटन र त्यसको नैतिक तथा राजनीतिक जिम्मेवारीमा उनी सिधै प्रवेश नगरेको देखिन्थ्यो ।
कार्यक्रममा उपस्थित केही बुद्धिजीवीहरूले अनौपचारिक रूपमा प्रतिक्रिया दिँदै राजनीतिक दलहरूले आफ्नो विगतप्रति स्पष्ट आत्ममूल्यांकन गर्नुपर्ने धारणा व्यक्त गरे । ‘विकासका कुरा महत्त्वपूर्ण हुन् । तर, इतिहासको जवाफ पनि दिनुपर्छ,’ एक सहभागीले भने ।
मोरङ क्षेत्र नम्बर ४ को राजनीतिक परिदृश्यमा मोदीको यात्रा रोचक रहँदै आएको छ । उनले २०७४ सालमा नेकपा (एमाले)सँगको गठबन्धनको समर्थनमा पहिलोपटक जित हात पारेका थिए भने २०७९ सालमा नेपाली कांग्रेससँगको गठबन्धनबाट पुनः निर्वाचित भएका थिए ।
फरक–फरक शक्तिसँग गठबन्धन गर्दै लगातार २ पटक जित निकाल्न सफल भएका उनी अहिले तेस्रोपटक जित निकाल्दै ह्याट्रिक गर्ने लक्ष्यसहित मैदानमा छन् । तर, यसपटक उनको दल नेकपा एक्लै चुनावी मैदानमा छ ।
बिहीबारको उक्त संवादले देखाएको चित्र फरक थियो । विकासका एजेन्डा प्रस्तुत गर्न आएका उम्मेदवारलाई विचारधारा, राजनीतिक इतिहास र नैतिक जिम्मेवारीका प्रश्नले घेर्यो । स्थानीय विकासका उपलब्धि र संसदीय गतिविधि मात्र पर्याप्त नहुने, विगतका राजनीतिक निर्णय र आन्दोलनबारे पनि स्पष्टता दिनुपर्ने सन्देश कार्यक्रमले दिएको छ ।
विराटनगर–१० तिनटोलियामा भएको उक्त छलफल औपचारिक रूपमा शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि त्यो कार्यक्रमले पूर्वमाओवादीप्रति गम्भीर प्रश्न उठाएको छ । माओवादी आन्दोलनको ऐतिहासिक विरासत, त्यसको रूपान्तरण, गठबन्धन राजनीतिमा देखिएको परिवर्तन र संघर्षकालीन जिम्मेवारीबारे राजनीतिक नेताहरूले कति स्पष्ट र साहसिक रूपमा बोल्न सक्छन् भन्ने बहस पुनः सतहमा आएको छ ।
फागुन २१ गतेको निर्वाचन नजिकिँदै जाँदा यस्ता संवादहरू झन् तीखा र विचारोत्तेजक हुने संकेत देखिएको छ । बुध्दिजीवी वर्गको प्रश्नले केहीबेर निरुत्तर बनेका मोदीका लागि यो कार्यक्रम प्रचारात्मक प्रस्तुति मात्र रहेन । राजनीतिक आत्ममूल्यांकनको सार्वजनिक क्षणका रूपमा पनि स्मरणीय बन्न पुगेको छ ।
























