
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आसन्न निर्वाचनका लागि देशभरबाट पार्टीको पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन्। शनिबार एक भिडियो सन्देश जारी गर्दै पौडेलले मतदाता र कार्यकर्ताको साथले आफूलाई थप ऊर्जा मिलेको उल्लेख गरेका छन्।
देशभरका मतदाता र शुभेच्छुकहरूले फोन गरेर कांग्रेस रूपान्तरणको अभियानलाई प्रशंसा गरेको पौडेलले बताए। ‘साथीहरूले तपाईंहरूले कांग्रेस रूपान्तरण गर्नुभयो, अब देश रूपान्तरणको प्रक्रियामा अझ उत्साहका साथ अगाडि बढ्नुस् भन्नुभएको छ, यसले मलाई निकै उत्साही बनाएको छ,’ उनले भनेका छन्।
महामन्त्री पौडेलले देशभर छरिएर रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अन्तिम समयसम्म मतदाताको घरदैलोमा पुग्न आग्रह गरेका छन्। उनले राजनीतिका तमाम विकृतिहरूलाई सफा गर्दै नयाँ ढङ्गले देश विकासमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे।
आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–५ का मतदाताहरूबाट प्राप्त स्नेह र सद्भावले आफूलाई निकै प्रभावित पारेको पौडेलको भनाइ छ। मतदाताको विश्वासलाई शिरोधार्य गर्दै आफू चुनावी मैदानमा निकै उत्साही भएर लागेको उनले बताए।
























