
कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्ने जनमत संग्रहको संज्ञा दिएका छन्। शनिबार कपिलवस्तुको कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले अहिलेको समय सबै मिलेर मुलुकको रक्षा गर्ने महत्वपूर्ण घडी भएको उल्लेख गरे।
प्रचण्डले यस निर्वाचनमा दुई धारबीच प्रतिस्पर्धा भइरहेको बताए। एकातिर राष्ट्रको एकता प्रवर्द्धन गर्न चाहने शक्ति र अर्कोतिर मुलुकलाई सङ्कटमा धकेल्ने प्रवृत्ति चुनावी मैदानमा रहेको उनको भनाइ छ। मतदाताको अगाडि राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा उभिने शक्तिलाई छनोट गर्ने अहम् प्रश्न रहेको उनले औंल्याए।
मुलुकमा निर्वाचनको वातावरण सिर्जना हुनु आफ्नो पार्टीका लागि गर्वको विषय भएको बताउँदै उनले चुनावमा नेकपाको पक्षमा उत्साहजनक नतिजा आउने दाबी समेत गरे। निर्वाचन नजिकिँदै गर्दा उनले पार्टीका कार्यकर्ताहरूलाई जनताको घरदैलोमा पुगेर राष्ट्रियताको पक्षमा माहोल बनाउन निर्देशन दिएका छन्।
























