
दमक । झापा क्षेत्र नम्बर ५ मा चुनावी प्रतिस्पर्धा निकै रोचक मोडमा पुगेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रन्जित तामाङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आफूलाई सहयोग गर्न सार्वजनिक प्रस्ताव गरेका छन्।
शनिबार दमकमा आयोजित पत्रकार सम्मेलनमा तामाङले ओलीले जस्तोसुकै कसरत गरे पनि चुनाव जित्ने सम्भावना नरहेको दाबी गर्दै वाम आन्दोलनको रक्षाका लागि आफ्नो पक्षमा उभिन आग्रह गरे। तामाङले आफ्नो पक्षमा विजयको लहर बढ्दै गएको देखेपछि पराजित मानसिकता बोकेका शक्तिहरूले भ्रम फैलाइरहेको आरोप लगाए।
उनले केपी ओली र बालेन समूहले सत्ता र शक्तिको आडमा बजेट, योजना र प्रलोभनका पोका बाँडेर निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन गरेकोमा कडा आपत्ति जनाए। यस्ता आचारसंहिता विपरीतका गतिविधि तत्काल रोक्न उनले चेतावनी समेत दिए।
पत्रकार सम्मेलनका क्रममा तामाङले कमल गाउँपालिकामा रिपोर्टिङका क्रममा रहेका पत्रकार अर्जुन आचार्यमाथि एमाले निकट ‘नेसनल भोलिन्टियर्स फोर्स’ का कार्यकर्ताले गरेको साङ्घातिक हमलाको घोर भर्त्सना गरे। उनले दोषीलाई तत्काल कडा कारबाही गर्न माग गर्दै निर्वाचन बिथोल्ने कार्यमा कोही पनि लाग्न नहुने बताए।
























