निर्वाचनका बेला पत्रकारको सुरक्षामा गम्भीर चिन्ता

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १६, शनिबार १७:२७

इटहरी । सुनसरीको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिबार इटहरीमा निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन २१ गतेको निर्वाचनको सन्दर्भमा आयोजित निर्वाचन विशेष अन्तरक्रियामा पत्रकारहरूको सुरक्षालाई लिएर सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा पत्रकार एवं मुलुकी खबर अनलाइनका सम्पादक किशोर बुढाथोकीले यस पटकको निर्वाचनमा पत्रकारहरूको सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको बताए ।

केही दिनअघि झापामा रिपोर्टिङका क्रममा पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गरिएको घटनालाई स्मरण गर्दै उनले पत्रकार सुरक्षाको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गरे । यस्ता घटनाप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

उदयपुरका पत्रकार अञ्जनी कुमार अधिकारीले फिल्डमा समाचार संकलन गर्दा सतर्कता नअपनाए पत्रकारहरू भौतिक आक्रमणको जोखिममा पर्न सक्ने बताए । प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्लेले निर्वाचन सुरक्षाको नेतृत्व नेपाली सेनाले गरेकाले पत्रकारलाई अप्ठ्यारो पर्न सक्ने अवस्था रहेको धारणा राखे ।

अघिल्ला निर्वाचनहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अग्रभागमा रहेको उल्लेख गर्दै उनले सेनासँग पत्रकारहरूको जनसम्पर्क तुलनात्मक रूपमा कम हुने भएकाले रिपोर्टिङमा कठिनाइ आउन सक्ने बताए । वाग्लेले पत्रकार तथा सञ्चार संस्थामा कार्यरत सञ्चारकर्मीलाई प्रेस पास, सवारी पासलगायत आवश्यक कागजात तयारी अवस्थामा राख्न आग्रह गरे ।

प्रदेश खबरका समाचार प्रमुख कृष्ण भट्टराई जुनेलीले पत्रकारहरूले आफ्नो सुरक्षामा स्वयं सचेत रहँदै सत्य तथ्य र निष्पक्ष ढंगले रिपोर्टिङ गर्नुपर्ने बताए । तेह्रथुमका पत्रकार प्रकाश पाक्सावाले अहिलेको चुनावी वातावरणमा रिपोर्टिङ गर्दा विशेष सतर्कता आवश्यक रहेको उल्लेख गरे । सुरक्षाकर्मीहरू नै असुरक्षित महसुस गरिरहेको अवस्थामा पत्रकारहरू झनै जोखिममा रहेको उनले बताए ।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका संवाददाताले आआफ्नो जिल्लामा निर्वाचनको तयारी र रिपोर्टिङको अवस्थाबारे धारणा राखेका थिए । साथै, निर्वाचन लक्षित समाचार संकलन तथा सम्प्रेषणमा उत्कृष्ट प्रदर्शन गर्ने संवाददातालाई ‘टप अफ दी मन्थ’ घोषणा गरी पुरस्कृत गरिने जानकारी दिइयो ।

नयन मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लिका अध्यक्ष तथा प्रदेश खबरका प्रधान सम्पादक पवन अधिकारीले निर्वाचन लक्षित रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण हुनु गम्भीर विषय भएको बताए । पत्रकार र पत्रकारिताको पक्षमा आवाज उठाउने संघ संस्थाले सम्बन्धित निकायसँग समन्वय गरी सहज वातावरण निर्माण गर्न पहल गर्नुपर्ने उनले धारणा राखेका छन् ।

कार्यक्रममा प्रदेश खबरमा कार्यरत पत्रकारहरूको सुरक्षाका लागि प्रेस ज्याकेट र परिचयपत्र वितरण गरिएको थियो । कार्यक्रममा इटहरी इन्टरनेसनल कलेजका प्रमुख कार्यकारी अधिकृत सत्यव्रत कोइराला, काफल्सका प्रबन्धक सन्तोष धमला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि शंकर गुरागाईं लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.