
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार रहेका पूर्वसामान्य प्रशासन मन्त्री अमनलाल मोदीको चुनावी अभियान गम्भीर विवादको घेरामा परेको छ ।
गत भदौ २४ गते विराटनगरका सरकारी संरचना आगजनी गर्ने ‘मुख्य नाइके’मध्येका एक ताजिम अन्सारीलाई आफ्नै चुनावी अभियानको प्रमुख सहयोगी बनाएको तथ्य सार्वजनिक भएपछि मोदीको तीव्र आलोचना भइरहेको छ । अन्सारीलाई जेनजी आन्दोलनको आवरणमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ, आन्तरिक राजस्व कार्यालय, नापी कार्यालय तथा महानगरपालिका कार्यालय, प्रदेश प्रमुखको निवास, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालयका भवनमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोप लागिरहेको छ ।
आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको भिडियो र फोटोसमेतको प्रमाणका आधारमा अन्सारीसहित केही व्यक्तिलाई प्रहरीले मंसिर १४ गते पक्राउ गरेको थियो । तर, सरकारी वकिलको कार्यालयले सबै जनालाई हाजिरजमानीमा छाड्यो । त्यतिबेला जिल्ला सरकारी वकिल कार्यालय मोरङमा नवराज पराजुली प्रमुख थिए ।
जिल्ला न्यायाधिवक्ता पराजुलीको तजबिजीले ‘आगजनी गरी विराटनगर जलाएर ध्वस्त पार्ने गिरोह’ छुट्टा मोदीसहितका नेकपा नेताहरूले जिम्मा लिएर खुला रुपमा भव्य स्वागत गर्दै हर्षोल्लास मनाएका थिए । विराटनगर जलाउने गिरोहविरुद्धको आपराधिक उपद्रव मुद्दा भने अदालतमा विचाराधीन छ । यता मोदीको चुनावी अभियानमा भने हिंसात्मक इतिहासको छाया परिरहेको छ ।

आगजनी गरेर विराटनगर ध्वस्त बनाउँदै गरेको प्रमाण अन्सारी आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । चौतर्फी आलोचना भएपछि आफैंले हटाए । तर, अन्सारी जेनजी आन्दोलनको पक्षमा उभिएको र कतै पनि आगजनी नगरेको बताउँदै आफूलाई झुटा मुद्दा चलाइएको दाबी गर्छन् ।
‘मैले अहिले चुनाव प्रचारको कुनै जिम्मेवारी लिएको छैन । पार्टी र उम्मेदवारको सामान्य प्रचार मात्रै गरिरहेको छु,’ उनले भने, ‘चुनाव जितिन्छ कि जितिदैन भन्ने थाहा छैन । त्यो जनताको हातको कुरा हो ।’ जनताले भोट दिए जित्ने र नभए हार्ने उनको भनाइ छ । तर, आफूविरुद्ध लागेको मुद्दाको विषय भने अहिले बिर्सिसकेको अन्सारी बताउँछन् । हालसम्म विकसित घटनाक्रमले भने तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेताहरु (हाल नेकपा)को निर्देशन एवं योजनामा आगजनी एवं हिंसात्मक घटना भएको देखाउँछ ।

मोदी सांसद एवं मन्त्री हुँदा अन्सारी उनका स्वकीय सचिव थिए । आगजनी गरेर विराटनगरका सर्वोच्च संरचना जलाउन महत्वपूर्ण भूमिका खेलेका अन्सारी अहिले मोदीको चुनावी अभियानका प्रमुख सहयोगीका रूपमा देखा परेका छन् । मोदीले २०७४ र २०७९ सालको निर्वाचन मोरङ–४ बाटै जितेका थिए । तत्कालीन माओवादीमा रहँदा उनले २०७४ सालमा नेकपा (एमाले) र २०७९ सालमा नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव जितेका हुन् ।
अहिले माओवादीसहितका दल मिलेर बनेको नेकपाबाट मात्रै उनी चुनावी मैदानमा छन् । सबैले प्रष्टसँग देखेको ‘गम्भीर अपराध’मा संलग्न व्यक्तिलाई चुनाव प्रचारमा प्रयोग एवं परिचालन गर्नुले नैतिक र राजनीतिक दृष्टिले मोदीमाथि धेरै प्रश्न उठेका छन् । भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखेर उठेको जेनजी आन्दोलनलाई हिंसात्मक रूपमा ढालेर मुलुकभर आगजनी, तोडफोड, लुटपाट र चोरी आतंक मच्चाइएको थियो ।

काठमाडौं र विराटनगर मात्रै नभएर कोशी प्रदेशका विभिन्न कार्यालय, निजी सम्पत्ति, सवारीसाधन र व्यापारिक मलहरूमा समेत आगजनी भएको थियो । भदौ २४ को आगजनी आतंकले करोडौंको क्षति पुग्दा सरकारी सेवा प्रवाहमा दीर्घकालीन असर पुगेको छ । आगजनीका क्रममा अन्सारीले सुरक्षाकर्मीको टोपी खोसेर लगाउँदै फोटो खिचाएका थिए ।

प्रहरीका अनुसार प्राप्त प्रमाणबाट अन्सारीले भदौ २४ गते सरकारी संरचना ध्वस्त पार्ने गिरोहको नेतृत्व गरेको प्रष्ट हुन्छ । आगजनीका ‘नाइके’ उनी अहिले मोदीको चुनावी अभियानमा सक्रिय हुँदा तत्कालीन घटनाको स्मृतिसँगै राजनीतिक नैतिकताको प्रश्न उठेको छ । नेकपाकै एक नेताले भने, ‘पुराना नेता कार्यकर्तालाई बेवास्ता गरिएको छ । विराटनगर जलाउन मुख्य भूमिका खेलेको व्यक्ति चैं मुख्य प्रचारक बनेको छ । यसले राजनीतिक दलप्रति वितृष्णा पैदा गरेको छ । मोदीको नैतिकतामा प्रश्न उठेको छ ।’ उनका अनुसार मोदी–अन्सारी साँठगाँठको चौतर्फी आलोचना भइरहेको छ ।
मोदीले आफ्नो चुनावी अभियानमा अन्सारीलाई प्रमुख सहयोगी बनाएपछि राजनीतिक र नैतिक दृष्टिले ठूलो विवाद उत्पन्न भएको उनी बताउँछन् । आगजनीका बेला मोदीले अन्सारीसँग कुनै सम्बन्ध नभएको बताएका थिए । अहिले उनैलाई चुनावको मुख्य प्रचारक बनाएका मोदी यस विषयमा बुझ्न खोज्दा सम्पर्कमै आउन चाहेनन् । एकपटक फोन उठाएर ‘बैठकमा छु, आधा घण्टापछि कुरा गर्छु’ भनेका उनी त्यसपछि सम्पर्कमै आएनन् । बारम्बार गरेको फोन उठाएनन् ।
तर, चुनावी अभियानमा मोदी पुगेका हरेकजसो कार्यक्रममा अन्सारी पुग्ने गरेका छन् । जसले विवाद मात्रै जन्माएको छैन, अभियुक्तलाई अघिपछि लगाएर मत माग्दै हिँड्नुले राजनीतिक तर्क र नैतिकताको सवाल उठाएको छ ।

अभियुक्तलाई संरक्षण गरिरहेका राजनीतिक दल र नेताहरूले ‘आगजनी अपराध’मा संलग्न व्यक्तिलाई खुलेआम चुनावी सहयोगी बनाउनु राजनीतिक प्रणालीमा वितृष्णा र जनविश्वास कमजोर बनाउने कार्य भएको विश्लेषकहरु बताउँछन् । राजनीतिक विश्लेषक गिरीश भट्टराईका अनुसार हिंसात्मक गतिविधिमा संलग्न भएका व्यक्तिहरूले जनताको नाममा राजनीति गर्दै असल राजनीतिक संस्कार र लोकतन्त्रको उपहास गरिरहेका छन् ।
‘आन्दोलन कब्जा गरेर हिंसाको बाटो रोज्नेहरूले आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि सहर जलाएर सरकारी संरचना ध्वस्त बनाउँदै जनतालाई पीडित बनाए । अहिले तिनै व्यक्ति उम्मेदवारको चुनावी अभियानमा सक्रिय देखिनुले राजनीतिक दलप्रति जनविश्वास झनै कमजोर भएको छ,’ उनले भने । अभियुक्तको साथ र सहयोगले नै मोदीको चुनावी गतिविधि विवादास्पद बनेको कतिपयको विश्लेषण छ ।
भट्टराईका अनुसार अभियुक्तलाई चुनाव प्रचारमा हिँडाउनु राजनीतिक, नैतिक र कानुनी दृष्टिले उपयुक्त हुँदैन । ‘यस्ता विषयले नेपाली राजनीतिमा हिंसात्मक इतिहास र वर्तमान चुनावी रणनीतिबीचको संवेदनशील सम्बन्धलाई उजागर गर्छ,’ उनी भन्छन्, ‘हिंसा र अनियन्त्रित गतिविधिबाट जनता पीडित भएको वर्तमान राजनीतिक वातावरणमा अभियुक्तलाई चुनावी अभियानमा प्रयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी प्रक्रियासँग मेल खाँदैन ।’

अर्कोतर्फ मोदीको पछिल्लो कदमले नेकपाभित्रका पुराना नेता कार्यकर्तालाई निराश बनाएको छ । अन्य दल तथा उम्मेदवारले पनि आलोचना गरिरहेका छन् । आगजनीका अभियुक्तलाई चुनावी सहयोगी बनाउँदा राजनीतिक दल र उम्मेदवारले नैतिक जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ ।
मोदीको चुनाव प्रचारप्रसार, घरदैलो र मतदाता भेटघाटमा अभियुक्तको परिचालनले चुनावी मैदान मत र राजनीतिक सत्तामा सीमित नभएर लोकतन्त्र एवं नागरिक सुरक्षासँगको संवेदनशील सम्बन्धलाई समेत परीक्षण गरिरहेको छ । ‘इतिहासमा अंकित हिंसात्मक घटनालाई वर्तमान चुनावी रणनीतिमा प्रयोग गर्नुले राजनीतिमा नैतिक प्रश्न त उठाएकै छ,’ विश्लेषक भट्टराईले भने, ‘जनताको विश्वास र लोकतान्त्रिक संस्थाहरूको सम्मानमाथि पनि प्रभाव पार्ने खतरा रहन्छ ।’
नेकपा क्षेत्र नम्बर ४ का चुनावी कमाण्डर रूपेश खतिवडा आम मतदाताले मोदीलाई नै रोजेको र ५ देखि ७ हजारको मतान्तरले चुनाव जित्ने दाबी गर्छन् । विगतमा सांसद हुँदा घरदैलोमा गएर जनताको समस्या सुनेको, विराटनगरको डुबानदेखि ढलको समस्या समाधान गर्न भूमिका खेलेको, ग्रामथानका राजवंशीको धार्मिक र सांस्कृतिक प्रवर्धनमा सहयोग गरेको एवं वैजनाथपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालादेखि कटहरीको हुलाकी सडकको समस्या नजिकबाट चिनेर संसदमा जोडदार आवाज उठाएको जस्ता कारणले मोदीलाई नै मतदाताले पुनः अनुमोदन गर्न चाहेको खतिवडाको भनाइ छ ।
अर्कोतर्फ अनुभवी र गाउँ टोलका समस्या बुझेको नेता तथा पुराना योजनालाई निरन्तरता दिने प्रतिबद्धताका कारण चुनावी परिणाम मोदीकै पक्षमा आउने उनले बताए । खतिवडाले मोदीकै कारण सिंघिया र लोहन्द्रा खोलामा पुल निर्माण भएको जिकिरसमेत गरे ।
मोदीको चुनाव प्रचारमा अभियुक्तको सक्रियताको विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए । ‘उहाँ (ताजिम अन्सारी) स्वस्फूर्त रुपमा आउनु भएको हो । चुनाव प्रचारको कुनै जिम्मेवारी दिइएको छैन,’ खतिवडा भन्छन्, ‘अमनलाल मोदीलाई जिताउनुपर्छ भनेर आउनेलाई नकार्न सकिँदैन । साथ दिएर सहयोग गर्ने सबैलाई समर्थन जनाउने हो ।’

अन्सारीको नेतृत्वमा विराटनगर जलाएको विषयमा भने आफू जानकार नरहेको उनले बताए । ‘यदि यो घटना भएकै हो भने कानुनी कारबाहीको विषय बन्ला । त्यसलाई प्रहरी प्रशासनले हेर्छ । मलाई चैं थाहा भएन,’ खतिवडा भन्छन् । मोदीको चुनाव प्रचारमा कोशी प्रदेशका पूर्वमन्त्री एवं सांसद विजय विश्वास सहसंयोजक छन् ।
ग्रामथान र कटहरी गाउँपालिको सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ वडा समेटिएको मोरङ–४ मा १ लाख १९ हजार २५५ मतदाता छन् । यहाँ नेकपाका मोदीसहित नेपाली कांग्रेसका गुरुराज घिमिरे, नेकपा (एमाले)का जीवन घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सन्तोष राजवंशी लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।
माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताको अगुवाइमा जल्यो विराटनगर



















