
दमक। नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न एमालेको जित आवश्यक रहेको बताए। झापा ५ को दमकमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विकसित चुनौतीहरूको सामना गर्न सक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न जरुरी रहेको जनाए।
चुनावको मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको भन्दै उनले त्यस्ता पात्रहरूका कारण मुलुक नै अभिभावकविहीन हुने जोखिम रहेको औँल्याए। त्यस्तो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित अनिवार्य रहेको उनको भनाइ छ।
देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखिएको भन्दै भट्टराईले उनीहरूमा जिते छाती पिट्ने र हारे निराश हुने बाहेक कुनै उद्देश्य नरहेको दाबी गरे। ‘जेनजी’ आन्दोलनको क्षतिको दोष जबर्जस्ती एमालेतर्फ थुपार्न खोजिएको भन्दै उनले सो आन्दोलनमा देश ध्वस्त बनाउने कार्यमा संलग्नहरू कुन नैतिकताले उम्मेदवार बनेका हुन् भनेर प्रश्न समेत गरे।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि झापा ५ बाट एमाले अध्यक्ष फराकिलो अन्तरले विजयी हुने बताए। अध्यक्ष ओलीलाई यस क्षेत्रले निरन्तर उम्मेदवारका रूपमा पाउनु मतदाताका लागि ठुलो अवसर भएको उनको भनाइ छ।
त्यस्तै, चुनाव प्रचार उपसमिति संयोजक तथा पार्टी केन्द्रीय सदस्य इन्द्र भण्डारीले सशक्त जनपरिचालन र मतदाताको सक्रियताले एमालेको जित सुनिश्चित गरिसकेको दाबी गरे।
























