
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आम मतदातालाई विशेष अपिल गर्दै षड्यन्त्रपूर्ण हल्ला र अफवाहदेखि सचेत रहन आग्रह गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको अन्तिम दिन आज एक वक्तव्य जारी गर्दै निर्णायक घडीमा जनताको मत विभाजित गर्न केही तत्वहरू सुनियोजित ढङ्गले सक्रिय भएको दाबी गरे ।
अध्यक्ष यादवले मतदाताहरूलाई कुनै पनि प्रकारको क्षणिक प्रलोभन वा फैलाइएका भ्रममा नपर्न आग्रह गर्दै मधेसको मान-मर्यादा र स्वाभिमान जोगाउनु मुख्य आवश्यकता भएको उल्लेख गरे । उनले भने, ‘यो निर्वाचन केवल प्रतिनिधि चुन्ने मात्र होइन, मधेसको भविष्यको दिशा तय गर्ने सङ्कल्प पनि हो । त्यसैले आफ्नो त्याग र इतिहास सम्झेर सही निर्णय लिनुहोस् ।’
मधेसले प्राप्त गरेका सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र स्वायत्तता जस्ता उपलब्धिहरू कसैको दान नभई ठुलो बलिदानबाट प्राप्त भएको उनले स्मरण गराए । ‘मधेसको अधिकार सडक र सदनमा लडेर हासिल गरिएको हो, यो कसैले उपहारमा दिएको होइन,’ उनले आफ्नो अपिलमा भनेका छन् । सचेत मतदानले नै बलियो मधेस र सुरक्षित भविष्यको सुनिश्चितता गर्ने उनको भनाइ छ ।
























