विदेशीको प्रयोगशाला हुनबाट देश जोगाऔँ

Share this
717shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ फाल्गुन १८, सोमबार १७:०१

मेरो घर भोजपुरको षडानन्द नगरपालिका-८ दिंला (साविकको तुंगेछा गाविस-१) हो । आज नगरपालिका भनिए पनि भौगोलिक रूपमा मेरो गाउँ अझै निकै विकट छ । बाँदर नै लड्छ कि जस्तो देखिने भिरालो पाखोमा हाम्रा घरहरू छन् ।

२०६०/०६२ सालतिरको त्यो समय सम्झिँदा अझै पनि आङ सिरिङ्ग हुन्छ, जतिबेला धनकुटाको हिलेसम्म पुग्न डेढ दिनको पैदल यात्रा तय गर्नुपर्थ्यो । बर्खामा कच्ची सडक हिलाम्मे हुन्थे, गाडी चल्दैनथे र मौसम बिग्रँदा हवाई उडान ठप्प हुन्थे । सुविधासम्पन्न अस्पताल पुर्‍याउन नसक्दा मेरै परिवारका सदस्यले तीन दिनसम्म प्रसव पीडामा छटपटाउनुपरेको त्यो कारुणिक र पीडादायी विगत मेरो मानसपटलमा अझै ताजा छ ।

तर आज समय बदलिएको छ, तस्बिर फेरिएको छ । हिजो डेढ दिन लाग्ने हिले अहिले घरबाट हिँडेको साढे दुई घण्टामै पुगिन्छ । कोही गम्भीर बिरामी परे पाँच घण्टाभित्रै सुविधासम्पन्न स्वास्थ्य संस्था पुर्‍याउन सकिने स्थिति छ । टुकीको भरमा रात काट्ने गाउँका घरघरमा अहिले झिलिमिली बिजुली पुगेको छ ।

हिलेदेखि संखुवासभाको तुम्लिङटारसम्म कालोपत्रे सडकमा गाडीको ताँती लाग्छ । अरुण नदीको सतीघाट हुँदै दिंलासम्मको अधिकांश सडक पिच भइसकेको छ । दिंलाबाट मेरो घरसम्मको कच्ची सडक पनि नियमित मर्मत हुने भएकाले वर्षभरि गाडी चल्छन् । डेढ दिनको कष्टकर यात्राबाट साढे दुई घण्टाको सहज यात्रासम्मको यो परिवर्तन मैले आफ्नै आँखाले देखेको र भोगिरहेको विकास हो ।

यस्तै परिवर्तन देशका अन्य विकट कुनाकाप्चामा पनि भइरहेका छन् । दुर्गम बस्तीहरूमा सडक, शिक्षा र स्वास्थ्यको पहुँच पुगेको छ । यसको प्रत्यक्ष लाभ लिने उपभोक्ता हामी नै हौँ । तर, अचम्मको कुरा त के छ भने, अहिले एकथरी मानिसहरू योजनाबद्ध रूपमा ‘देशमा केही भएन’ भन्ने भाष्य निर्माण गरिरहेका छन् ।

‘नयाँ दल’का नाममा जनताको असन्तुष्टिमाथि राजनीति गर्ने र भ्रमको खेती गर्ने प्रवृत्ति बढ्दो छ । यदि ती नयाँ भनिएकाहरू स्वच्छ छवि र विवादरहित विगत बोकेर आएका भए विश्वास गर्न सकिन्थ्यो । तर, ‘पुरानाले केही गरेनन्’ भन्दै गर्जनेहरू नै ठगी काण्डमा मुछिएका, सहकारीको पैसा हिनामिना गरेका र देशका सर्वोच्च संरचनामा आगजनी गर्ने घटनामा संलग्न देखिएका छन् । हातमा ‘घण्टी’ बोक्दैमा वा चर्को स्वरमा चिच्याउँदैमा देशमा चामत्कारिक विकास हुन्छ भन्ने सोच केवल एउटा भ्रम मात्र हो ।

विकास एउटा निरन्तर चलिरहने प्रक्रिया हो, यो कुनै जादुको छडी होइन कि रातारात चमत्कार होस् । व्यक्तिको निजी स्वार्थ वा एजेन्डा पूरा नभएको झोँकलाई ‘देशले विकास नै गरेन’ भन्ने निष्कर्षमा बदल्नु सरासर गलत हो । देशको क्षमता र स्रोतअनुसार विकासका कामहरू भइरहेकै छन् ।

ऐतिहासिक परिवर्तन गरेर जनतालाई स्वतन्त्रता दिलाउने दलहरूमाथि प्रहार भइरहेका बेला आम नागरिक सचेत हुनु जरुरी छ । नयाँ भनिएकाहरूलाई अब प्रश्न सोध्ने बेला आएको छ- अहिलेसम्म देश विकासमा तपाईंको ठोस योगदान के छ ? देशका संरचना किन जलाइयो ? सहकारीमा गरिबले जम्मा गरेको पसिनाको कमाइ कहाँ गयो ?

म यो दाबी गर्दिनँ कि विगतमा नेताहरूले सबै कुरा राम्रो मात्रै गरे । भ्रष्टाचार भएको छ, राजनीतिक खिचातानीले विकासको गति अपेक्षित हुन सकेन, यो सत्य हो । तर, यसको सुधार खबरदारीबाट हुनुपर्छ, विध्वंसबाट होइन । संविधान जारी गर्ने, नाकाबन्दीको डटेर सामना गर्ने र मिचिएको भूमिसहितको चुच्चे नक्सा जारी गरेर राष्ट्रिय स्वाभिमान उच्च बनाउने नेताहरू अझै हामीमाझ छन् । यस्ता ऐतिहासिक उपलब्धिलाई राजनीतिक द्वन्द्व वा कसैको अहंकारले छायामा पार्न खोज्नु हुँदैन ।

समाधान पुरानालाई पूर्ण रूपमा नकार्नु वा अराजकतालाई विकल्प मान्नु होइन । नेतालाई सच्चिन बाध्य पार्ने शक्ति जनताको हातमा छ र गल्ती गरे जनताले छाड्दैनन् भन्ने सन्देश पुगिसकेको छ । ठगी र अराजकताको जगमा उभिएर जनभावनासँग खेल्नेहरूबाट सावधान रहनुपर्छ ।

अबको बाटो भनेको ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै, नेताहरूलाई निरन्तर खबरदारी गर्ने र देशलाई विदेशीहरूको प्रयोगशाला हुनबाट जोगाउनु हो । समृद्ध नेपालको यात्रामा सुशासन, रोजगारी र विकास नै हाम्रा मुख्य मुद्दा बन्नुपर्छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×