
विराटनगर । नेपाली काँग्रेसले संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ५० जनाभन्दा बढी युवालाई पार्टीमा भित्र्याएको छ । विभिन्न दल परित्याग गरेका ती युवा विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा औपचारिक रूपमा काँग्रेसमा प्रवेश गरेका हुन् ।
जीवन लिम्बूको नेतृत्वमा पार्टी प्रवेश गरेका युवाहरूलाई काँग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइरालाले अबिर र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै कोइरालाले युवाको सहभागिता नै संगठन सुदृढीकरणको आधार भएको उल्लेख गर्दै आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो शक्ति बनाउने दाबी गरे ।
पार्टी प्रवेश गर्नेहरूमा देउमान लिम्बू, अरुण माझी, पदम अधिकारी, सुनिल लिम्बू, अभिषेक तामाङ, ओम सुब्बा, सुनिल मगर, राजु परियार, विशाल बस्नेत, रूपेश चौधरी, निब्सन कटवाल, राजेश चौधरी, रमेश खवास, अक्ष खवास, रोहन खवास, डिल्लीराज चौधरी, मन्दीप कार्की, दीपेश सिक्दार, समीर चौधरी, अरुण सिक्दारलगायत रहेका छन् ।
नवप्रवेशीहरूले काँग्रेस उम्मेदवार कोइरालालाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । नवप्रवेशी डिल्लीराज चौधरीले देशलाई सही दिशा दिन सक्षम राजनीतिक शक्ति काँग्रेस मात्र रहेको निष्कर्षसहित आफूहरू पार्टीमा आबद्ध भएको बताए ।
उनले कोइरालाजस्ता अनुभवी र स्थापित नेता आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार रहेकाले युवाहरू आकर्षित भएको उल्लेख गरे । अर्का नवप्रवेशी पदम अधिकारीले जेनजी र सुशासनका पक्षमा कोइरालाले सधैँ आवाज उठाउँदै आएकाले काँग्रेस प्रवेश गरेको प्रस्टीकरण दिए ।
अर्का नवप्रवेशी देउमान लिम्बूले मतदातालाई मन नडुलाई काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै परिवर्तनका लागि स्थिर र जिम्मेवार नेतृत्व आवश्यक रहेको धारणा राखे ।
यसअघि पनि मोरङमा काँग्रेस प्रवेशको लहर देखिएको थियो । नेकपाका युवा नेता विजय कामतको नेतृत्वमा १५० भन्दा बढी व्यक्ति काँग्रेसमा प्रवेश गरेका थिए । पछिल्ला गतिविधिले मोरङमा काँग्रेसले चुनावी माहौल आफ्नो पक्षमा मोड्ने प्रयासलाई तीव्र बनाएको संकेत गरेको छ ।
























