गगन थापालाई भेटेपछि मिराजको टिप्पणी– ‘भाइरल भएर देश बन्दैन, काँग्रेस नै चाहिन्छ’

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार २०:५०
गगन थापालाई भेटेपछि मिराजको टिप्पणी– ‘भाइरल भएर देश बन्दैन, काँग्रेस नै चाहिन्छ’

काठमाडौं । नेपाली काँग्रेसका पार्टी सभापति गगनकुमार थापा र जेनजी अभियन्ता मिराज ढुंगानाबीच सर्लाहीमा सोमबार भेटघाट भएको छ ।

उनीहरूबिच भएको भेटघाटपछि ढुंगानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा राजनीतिक पृष्ठभूमि र संस्कार नभएका मानिसहरूको जमात बढ्दै गएको टिप्पणी गरेका छन् ।

उनले रास्वपाको सट्टा काँग्रेसलाई समर्थन गर्नुको कारण खुलाए। काँग्रेस प्रवेश गर्ने चर्चाका बिच कार्यक्रममा पुगेका मिराजले आफूले पार्टी प्रवेश नगरेको र काँग्रेसलाई समर्थन जनाउन मात्र आएको स्पष्ट पारे ।

वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले देशको नेतृत्व गर्न नसक्ने निष्कर्षमा आफू पुगेको, मिराजले बताएका हुन् ।

मिराजले रास्वपामा राजनीतिक चेत र गहिराइ नभएका मानिसहरूको हाबी भएको टिप्पणी गरे । उनले भने,  ‘रास्वपामा राजनीतिमा कहिल्यै संलग्न नभएका वा कुनै राजनीतिक पृष्ठभूमि नै नभएका मानिसहरूको जमात धेरै भयो । त्यसमाथि कलाकारहरू र सेलिब्रेटीहरू पनि थुप्रिए । यस्ता मानिसहरूले देश बन्दैन।’

राजनीति भनेको भाइरल हुनु मात्र नभई त्याग, इतिहास भएको जिकिर गरे । देश चलाउन भावनात्मक आवेग मात्र होइन, राजनीतिक संस्कार र अनुभव पनि चाहिने बताउँदै, मिराजले भने,  ‘रास्वपामा त्यो राजनीतिक परिपक्वता नदेखेकै कारण मैले समर्थन नगरेको हुँ।’

मिराजले काँग्रेसलाई समर्थन गर्नुको पछाडि राजनीतिक स्थिरता र इतिहासलाई कारण देखाए ।  ‘काँग्रेससँग लामो इतिहास छ, संघर्षको पृष्ठभूमि छ,’ मिराजले भने, ‘राजनीतिक पृष्ठभूमि नभएकाहरूको भीडभन्दा विचार र इतिहास भएको पार्टी नै देशका लागि सुरक्षित हुन्छ। त्यही भएर मैले काँग्रेसलाई समर्थन गरेको हो ।’

मिराजले सभापति थापासँग तस्बिर खिचाए पनि सदस्यता भने लिएनन् । उनले आफू स्वतन्त्र हैसियतमा रहेर काँग्रेसको विचार र नेतृत्वलाई सघाउने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.