
विराटनगर । विराटनगरको चुनावी सरगर्मीका बीच एउटा यस्तो उम्मेदवार छन्, जसको न साथमा कार्यकर्ताको लावालस्कर छ, न त चुनावी तडकभडक नै । सीटी सफारीमा आफ्नो निर्वाचन चिह्नसहितको प्रचार बोकेर एक्लै घरदैलोमा निस्किए, सामाजिक अभियन्ता उत्तम दाहाल ।
विराटनगर महानगरपालिका– ५ का स्थायी बासिन्दा दाहाल मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार हुन् । समाजमा व्याप्त बेथिति, ढिलासुस्ती र भ्रष्टाचारविरुद्ध खरो रूपमा प्रस्तुत हुने उनी आफ्नो हक्की स्वभावका कारण स्थानीयमाझ परिचित एवं लोकप्रिय छन् ।

दाहालको चुनाव चिन्ह मसी हो । उनको चुनावी अभियानमा ‘न भालेलाई न खसीलाई, हाम्रो भोट मसी’लाई भन्ने ‘स्लोगन’ चर्चित छ । उनको ‘स्लोगन’ले धादिङकी रास्वपा उम्मेदवार आसिका तामाङमाथि ब्यंग्य गरेको हो ।
कुनै समय नेताहरूको कार्यशैली र विकास निर्माणमा देखिएको ढिलासुस्तिविरुद्ध अभियान चलाएका दाहाल अहिले आफैँ नीति निर्माणको तहमा पुग्न चुनावी मैदानमा उत्रिएका हुन् । राजनीतिक निर्णयहरु तथा विकास निर्माण अवरुद्ध भएको विरोधमा उनकै नेतृत्वमा २०७९ सालका निर्वाचनमा नेता बहिष्कार अभियान चलाइएको थियो ।
नेता बहिष्कारको चर्चित अभियानले उनलाई सार्वजनिक हिसाबले परिचित हुन मद्धत गर्यो । हुलाकी सडकअन्तर्गतको जमुनगाछी खण्डको निर्माणमा भएको चरम ढिलासुस्तीविरुद्ध उनले सशक्त आन्दोलनको नेतृत्व गरेका थिए । दाहालले ठेकेदारलाई समयमै काम सक्न दबाब दिनेदेखि विकासका नाममा हुने राजनीतिविरुद्ध सधैँ आवाज उठाउँदै आएका छन् ।

अन्य उम्मेदवारहरू शक्ति प्रदर्शन र ठूला सभामा व्यस्त रहँदा दाहाल भने ‘वान मेन आर्मी’का रूपमा सादगीपूर्ण तरिकाले मतदाताको ढोकामा पुगिरहेका छन् । उनले निर्वाचनमा कुनै तामझाम गरेका छैनन् । उनी मतदाताले आफूलाई विश्वास गर्ने बताउँछन् ।
दाहालले उम्मेदवारी दर्ता गर्दा एउटा अनौठो घोषणा गरेका थिए, ‘आफूभन्दा राम्रो र योग्य उम्मेदवार भेटिए उम्मेदवारी फिर्ता लिएर सघाउने ।’ तर, चुनावी मैदानमा उत्रिएका पुराना र नयाँ अनुहारहरूमा समाज बदल्ने ठोस दृष्टिकोण नदेखेपछि आफैं चुनाव लड्ने निर्णयमा पुगेको उनी बताउँछन् ।
उनको यो फरक शैली र अठोटलाई युवा पुस्ताले पनि साथ दिन थालेका छन् । जेनजी आन्दोलनका अभियन्ता राम खत्रीले दाहाललाई समर्थन गरेका छन् । खत्रीले सोही क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएर दाहाललाई समर्थन गरेका हुन् ।

























