फाइल फोटो ।विराटनगर । मोरङको कटहरीबाट स्रोत नखुलेको रकम बरामद भएको छ । उक्त रकम ओसारपसार गर्न प्रयोग गरिएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुलाकी सडक खण्डअन्तर्गत कटहरी गाउँपालिका–३ बाट स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रूपैयाँ बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको टोलीले प्रदेश १–०२–००२ च ६६१० नम्बरको टाटा योद्धा पिकअप गाडी नियन्त्रणमा लिएर खानतलासी गरेको थियो ।
विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको गाडी प्रहरीले मंगलबार बिहानका राति १ः३५ बजेतिर नियन्त्रणमा लिएको हो । गाडी खानतलासी गर्दा स्रोत नखुलेको नेपाली रूपैयाँ फेला परेपछि रकम बरामद गरेर गाडीसहित चालक जहदा गाउँपालिका–२ का अन्दाजी २४ वर्षीय विशाल टुडूलाई नियन्त्रणमा लिइएको एसपी कटवालले बताए ।
उनका अनुसार बरामद भएको रकम, नियन्त्रणमा लिइएको गाडी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























