झापा–५ मा सेनाको कडा सुरक्षा

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार ०६:३०

झापा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित जोखिम र उच्च राजनीतिक प्रतिस्पर्धालाई मध्यनजर गर्दै नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

सेनाले दमक–८ मा कम्पनी अपरेटिङ बेस स्थापना गरी त्यसअन्तर्गत दमक, गौरादह, तोपगाछी र गौरीगञ्ज क्षेत्रमा प्लाटुन अपरेटिङ बेस सञ्चालन गरेको जनाएको छ । सुरक्षाका लागि ठूलो संख्यामा सैनिक परिचालन गरिएका छन् भने प्रत्येक बेसमा लप्टनको कमाण्डमा टोली खटिएको छ ।

जमिनमा नियमित पेट्रोलिङ, डे–नाइट गस्ती र फ्ल्याग मार्च सञ्चालन भइरहेका छन् । यसैबीच, दमकमा अस्थायी हेलिप्याड निर्माण गरी हवाई गस्तीसमेत सुरु गरिएको छ ।

सेनाको हेलिकप्टरमार्फत संवेदनशील स्थानको हवाई निगरानी गरिएको सुरक्षा स्रोतले जनाएको छ । चारवटा बख्तरबन्ध गाडीसमेत तयारी अवस्थामा राखिएका छन् ।

निर्वाचन अवधिभर सेना तेस्रो सुरक्षा घेरामा रहने र मतदान केन्द्रभित्र प्रवेश नगर्ने स्पष्ट पारिएको छ । मतपेटिका ढुवानीका क्रममा ‘स्कर्टिङ’ र ‘पिकेटिङ’ मार्फत सुरक्षा दिइनेछ भने दमकस्थित मतगणना स्थलमा अन्तिम परिणाम घोषणा नभएसम्म चौबीसै घण्टा पहरा रहने योजना छ ।

सुरक्षा अधिकारीहरूले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन कुनै पनि किसिमको अवाञ्छित गतिविधि सह्य नहुने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह (बालेन्द्र), नेपाली कांग्रेसबाट मन्धरा चिमरिया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रञ्जित तामालगायतका उम्मेदवार प्रतिस्पर्धामा रहेकाले झापा–५ लाई अतिसंवेदनशील निर्वाचन क्षेत्र मानेर त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको अधिकारीहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.