कोशी प्रदेश : सीमादेखि सहरसम्म कडा निगरानी

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २०, बुधबार १८:२४

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार हुने मतदानलाई लक्षित गरेर कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा क्षेत्रदेखि गाउँ तथा सहरसम्मका सबै स्थानमा सुरक्षा निगरानी बढाइएको छ ।

कोशीमा निर्वाचन सुरक्षाको दृष्टिले झापालाई अलि बढी संवेदनशील जिल्लाको रुपमा लिइएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह (बालेन्द्र)लगायतका उम्मेदवार प्रतिस्पधामा रहेका कारण झापाको निर्वाचन क्षेत्र नम्बर ५ लाई सबैभन्दा संवेदनशील मानिएको हो ।

झापा–५ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासोका साथ हेरिएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको बताए । उनका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय गरेर सुरक्षा घेरा मजबुत बनाइएको छ ।

नेपाली सेनाका पूर्वी पृतनापति उपरथी गौरवकुमार केसीका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेना पूर्ण तयारीका साथ परिचालित भएको छ । प्रदेशका १४ वटै जिल्लामा अस्थायी बेस स्थापना गरी पैदल तथा मोबाइल गस्ती सञ्चालन गरिएको छ ।

बम डिस्पोजल टोली तयारी अवस्थामा राखिएको छ भने संवेदनशील स्थानमा विशेष फौज तैनाथ गरिएको छ । केही क्षेत्रमा ड्रोनमार्फत निगरानीसमेत बढाइएको सेनाले जनाएको छ ।

कोशीका प्रहरी प्रमुख डीआईजी घिमिरेले मतदानस्थलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा जनशक्ति परिचालन गरिएको जानकारी दिए । ‘सुरक्षामा कुनै कमजोरी हुँदैन । मतदाताले निर्धक्क भएर मतदान गर्न सक्नुहुन्छ,’ उनले भने ।

सीमावर्ती जिल्लामा सशस्त्र प्रहरी बलसँगको सहकार्यमा निगरानी कडा पारिएको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी मनिष थापाले सीमा क्षेत्रमा पैदल तथा मोबाइल गस्ती बढाएर अवाञ्छित गतिविधि रोक्न विशेष कडाइ गरिएको जानकारी दिए ।

आकस्मिक अवस्था वा आपत्कालीन उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । निर्वाचनलाई लक्षित गरेर सक्रिय बनाइएका जिल्ला सुरक्षा समितिहरूले अवस्थाको नियमित रूपमा मूल्यांकन गरिरहेका छन् ।

सुरक्षा अधिकारीहरुले मतदातालाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका छन् । उनीहरूले लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनमा निडर भएर सहभागिता जनाउन सबै नागरिकलाई अपिल गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.