नेताहरूको मतदान तालिका सार्वजनिक

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २१, बिहीबार ०६:५७

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान हुँदैछ । प्रमुख राजनीतिक दलका नेताहरूले पनि आआफ्नो मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहने उनीहरूको मतदान समय र केन्द्रको जानकारी पाएसँगै सुरक्षा र व्यवस्थापनमा विशेष सतर्कता अपनाइएको छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले बिहान ७ बजे काठमाडौंको तीनकुने क्षेत्र (गैह्रीगाउँ) स्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम तय भएको छ ।

बिहानै मतदान गर्ने कार्यक्रम राखेर उनी मतदानपछि अन्य निर्वाचन गतिविधिमा सहभागी हुने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । कांग्रेस सभापति गगन थापाले बिहान १० बजे काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत मैतीदेवीस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय ‘क’मा रहेको मतदान केन्द्रबाट बिहान ११ः३० बजे मतदान गर्ने कार्यक्रम छ । ओली र बालेन झापा–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

एमाले नेता ईश्वर पोखरेलले काठमाडौंको टोखा–६ स्थित नमोबुद्ध माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट बिहान ७ः३० बजे मतदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, राप्रपाका रवीन्द्र मिश्रले ललितपुर महानगरपालिका–१८ भैंसिपाटीस्थित मतदान केन्द्रबाट बिहान ७ः३० बजे मतदान गर्ने तयारी गरेका छन् ।

एमाले नेता महेश बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । कांग्रेसका नेता एवं
मोरङ–६ का उमेदवार डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श विद्यालय मतदान केन्द्रमा बिहान ८ः३० बजेतिर मतदान गर्ने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.