मोरङका दुई क्षेत्रमा रास्वपा अगाडि, न्यौपाने र राजवंशीको अग्रता

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार ०६:२५

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङका दुईवटा क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् ।

मोरङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४ मा मतगणनाको सुरुआती परिणाम सार्वजनिक हुँदा दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि देखिएका हुन् । मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार अज्ञमणि न्यौपानेले सुरुआती अग्रता बनाएका छन् । हालसम्म गणना भएको मतअनुसार न्यौपानेले ९६७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामा रहेकी छन् । उनले ६४३ मत प्राप्त गरेकी छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो तेस्रो स्थानमा छन् । फागोले हालसम्म ४३७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले २७३ मत पाएका छन् ।

यता मोरङ क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले फराकिलो अग्रता बनाएका छन् । राजवंशी ३ हजार ८५८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे दोस्रो स्थानमा छन् । उनले हालसम्म ६९५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अमनलाल मोदी ६७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

एमालेका जीवन घिमिरे चौथो स्थानमा छन् । उनले ४१३ मत प्राप्त गरेका छन् । प्रारम्भिक नतिजाले भने यसपटकको निर्वाचनमा रास्वपाले परम्परागत ठूला दलहरूलाई चुनौती दिइरहेको संकेत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.