रास्वपाका शीर्ष नेताहरूको वर्चस्व, ओली र ईश्वर पोखरेल पछि

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २२, शुक्रबार ०९:३४

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले बलियो अग्रता कायम गरेका छन्।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने ३ हजार २ सय ६५ मतका साथ निरन्तर अगाडि देखिएका छन्। उनलाई नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ५ सय १९ मतका साथ पछ्याइरहेका छन्।

झापा क्षेत्र नम्बर ५ मा निकै रोचक परिणाम देखिएको छ। त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पछि पारेका छन्।

पछिल्लो विवरण अनुसार बालेनले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत मात्र पाएका छन्। तनहुँ १ मा रास्वपाका उपसभापति स्वर्णिम वाग्ले १ हजार ३ सय ५२ मतसहित अगाडि छन् भने कांग्रेसका गोविन्द भट्टराई ५ सय ९० मतका साथ दोस्रो स्थानमा छन्। काठमाडौं ९ मा उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले पनि अग्रता लिएको निर्वाचन कार्यालयले बताए।

रुकुम पूर्वमा भने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्रता कायमै छ। २ हजार ६ सय ३५ मत गणना हुँदा प्रचण्डले १ हजार ४ सय १५ मत पाएका छन् भने एमालेका लीलामणि गौतम ४ सय ३१ मतमा सीमित छन्। काठमाडौँ ५ मा एमालेका ईश्वर पोखरेल तेस्रो स्थानमा खुम्चिएका छन्। त्यहाँ रास्वपाका सस्मित पोखरेल ३ हजार ७ सय मतका साथ पहिलो र कांग्रेसका प्रदीप पौडेल १ हजार ७८ मतका साथ दोस्रो स्थानमा छन्।

सर्लाही ४ मा गगन थापा, दाङ २ मा शंकर पोखरेल र झापा ३ मा राजेन्द्र लिङ्देनको क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन। ती क्षेत्रमा मतपेटिका संकलन र सर्वदलीय बैठकको तयारी भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.