
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले उल्लेखनीय अग्रता लिएका छन् ।
हालसम्मको गणनाअनुसार ४१ स्थानमा रास्वपाका उम्मेदवारहरू अगाडि देखिएका छन् भने नेकपा (एमाले) ५ स्थान, नेपाली कांग्रेस ४ स्थान र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ स्थानमा अग्रता कायम गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार देशभरका धेरै निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।
प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहँदा विशेषगरी सहरी क्षेत्र तथा केही तराईका जिल्लाहरूमा रास्वपाका उम्मेदवारहरू बलियो रूपमा अगाडि देखिएका छन् । काठमाडौं उपत्यका, चितवन, कास्की, रूपन्देही, मोरङ, झापा, दाङ लगायतका क्षेत्रमा उनीहरूले उल्लेखनीय मतान्तर बनाएका छन् ।
काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा छन् । काठमाडौं–१ मा रञ्जु न्यौपाने (दर्शना) अगाडि छन् भने काठमाडौं–२ मा सुनिल केसीले अग्रता लिइरहेका छन् । काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं–१० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।
त्यसैगरी, ललितपुर–३ मा तोसीमा कार्की अग्रस्थानमा छन् । भक्तपुर–१ मा रुकेश रञ्जित र भक्तपुर–२ मा राजीव खत्री पनि अगाडि देखिएका छन् । चितवन–२ मा रवि लामिछाने र चितवन–३ मा सोविता गौतमले मतगणनामा अग्रता बनाएका छन् ।
पश्चिम नेपालका विभिन्न जिल्लामा पनि रास्वपाका उम्मेदवारहरूले राम्रो मत प्राप्त गरेका छन् । कास्की–१ मा खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ अगाडि छन् । तनहुँ–१ मा स्वर्णिम वाग्लेले अग्रता लिएका छन् भने स्याङ्जा–१ मा धनञ्जय रेग्मी अगाडि देखिएका छन् ।
तराई क्षेत्रका केही जिल्लामा पनि रास्वपाको राम्रो उपस्थिति देखिएको छ । रूपन्देही–२ मा सुलभ खरेल, रूपन्देही–३ मा डा. लेखजंग थापा र रूपन्देही–५ मा तौफिक अहमद खान अग्रता लिइरहेका छन् । महोत्तरी–१ मा प्रमोदकुमार महतो, धनुषा–३ मा मनिष झा, रौतहट–४ मा गणेश पौडेल र बारा–१ मा गणेश धिमाल अगाडि देखिएका छन् ।
पूर्वी नेपालमा पनि रास्वपाले प्रारम्भिक मतगणनामा राम्रो प्रदर्शन गरेको छ । मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–४ मा सन्तोष राजवंशी र मोरङ–५ मा आशा झाले अग्रता लिइरहेका छन् । झापा–२ मा रास्वपाका इन्दिरा राना मगर र झापा–५ मा बालेन्द्र शाह (बालेन) अगाडि छन् ।
मध्य तथा सुदूरपश्चिमका केही क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडि छन् । बाँके–१ मा सुरेशकुमार चौधरी र बाँके–३ मा खगेन्द्र सुनार अग्रता लिइरहेका छन् । दाङ–१ मा देवराज पाठक अगाडि छन् । कञ्चनपुर–२ मा दिपकराज बोहरा र कञ्चनपुर–३ मा ज्ञानेन्द्रसिंह महता अग्रस्थानमा छन् ।
यसैबीच, एमालेले ५ क्षेत्रमा अग्रता कायम गरेको छ। रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा–१ मा मीनप्रसाद गुरुङ, तेह्रथुम–१ मा भानुभक्त ढकाल र चितवन–१ मा दावा दोर्जे लामाले अग्रता लिइरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवारहरू पनि केही क्षेत्रमा अगाडि छन् । ललितपुर–१ मा उदयशमशेर राणा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह र कैलाली–१ मा जनकराज चौधरी अग्रता लिइरहेका छन् । अन्य केही क्षेत्रमा पनि कांग्रेसले प्रतिस्पर्धात्मक मत प्राप्त गरिरहेको जनाइएको छ।
यस्तै, नेकपाका दुई उम्मेदवारले अग्रता लिएका छन् । रुकुम पूर्व–१ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा छन् भने कालीकोट–१ मा महेन्द्रबहादुर शाही अगाडि देखिएका छन् । मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि छन् ।
प्रारम्भिक गणनाले यसपटकको निर्वाचनमा आफूलाई नयाँ शक्ति दाबी गर्ने रास्वपाले उल्लेखनीय प्रभाव देखाएको छ । देशको परम्परागत राजनीतिक शक्ति छाडेर मतदातामा नयाँ दलप्रतिको आकर्षण स्पष्ट रूपमा देखिएको छ ।
























