
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने भारी मतान्तरले विजयी भएकी छिन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल २९ उम्मेदवारमध्ये रञ्जुसहित मात्र तीन जनाले आफ्नो धरौटी जोगाउन सफल भएका छन्।
निर्वाचन ऐनअनुसार सदर मतको १० प्रतिशत (२ हजार ९०८ मत) कटाउन नसक्दा नेकपा एमालेसहित २६ उम्मेदवारको जमानत जफत भएको छ। विजयी न्यौपानेले १५ हजार ४ सय ५५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ र राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत ल्याएर आफ्नो धरौटी जोगाएका छन्।
ऐतिहासिक रूपमा मदन भण्डारी र विद्यादेवी भण्डारीले जितेको यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार मोहनराज रेग्मीले जम्मा १ हजार ६ सय १८ मत प्राप्त गरेपछि उनको समेत धरौटी जफत भएको छ। उज्यालो नेपाल पार्टीका मंगलाल श्रेष्ठ, श्रम संस्कृति पार्टीका समिर लामा तामाङ र नेकपाकी मेनुका भण्डारी लगायतले पनि १० प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेनन्। नेपाल मजदुर किसान पार्टी र माओवादीका उम्मेदवारले त सय मत पनि पार गर्न सकेनन् भने नेपाल जनसेवा पार्टीका अर्जुनबहादुर शाहीले शून्य मत प्राप्त गरेका छन्।
























