शेखर काेइरालाकाे विरासतमाथि रुविनाकाे धावा

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार ११:३०

विराटनगर । नेपाली राजनीतिको ‘पावर सेन्टर’मानिने विराटनगर र कोइराला परिवारको विरासतमा ठूलो राजनीतिक परकम्प गएको छ ।डाक्टर शेखर कोइरालाकाे  विरासतकाे राजनीतिमा ब्रेक लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुविना आचार्यको उदय भएको छ ।

मोरङ क्षेत्र नम्बर ६ बाट वर्षौंदेखि जरो गाडेर बसेका स्थापित ‘हेभिवेट’नेतालाई पाखा लगाउँदै रास्वपाकी उम्मेदवार रुविना आचार्यको उदय भएको हाे ।

नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर कोइराला र नेकपा एमालेका स्थापित नेता विनोद ढकाललाई निकै फराकिलो मतान्तरले पराजित गर्दै रुविनाले संसदको यात्रा तय गरिन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रुविना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दै सानदार जित हासिल गरिन । उनका निकटतम प्रतिस्पर्धी तथा कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइरालाले मात्र १२ हजार ८५० मतमा चित्त बुझाउनु पर्यो । एमालेका विनोद ढकाल ८ हजार ३१७ मतसहित तेस्रो स्थानमा खुम्चिए । यस्तै, श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ३ हजार ४०० मत प्राप्त गरे ।

जित र हारको यो विशाल अन्तरले मोरङ– ६ मा अब पुरानो विरासत भन्दा नयाँ अनुहार र परिवर्तनको एजेन्डा हाबी भएको स्पष्ट संकेत गरेको छ ।

२००७ सालदेखि नेपालको हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कोइराला परिवारका लागि यो पराजय निकै अर्थपूर्ण र चुनौतीपूर्ण छ । डा. शेखर कोइरालाका लागि यो छैटौं प्रतिस्पर्धा थियो, जसमा उनले तेस्रो पटक हार बेहोर्नु परेको छ ।

यसअघि २०६४ मा विजयकुमार गच्छदारसँग पराजित भएका कोइरालाले २०६५ को उपनिर्वाचन र २०७० को दोस्रो संविधानसभामा जित हात पारेका थिए । २०७४ मा एमालेका लालबाबु पण्डितसँग पराजित भए पनि २०७९ मा उनले पुनरागमन गरेका थिए । तर,यस पटक आफ्नै गृहजिल्लाकी चेली रुविनासँगको प्रतिस्पर्धामा उनले आफ्नो साख जोगाउन सकेनन् ।

कांग्रेसभित्रको आन्तरिक विवाद र विशेष महाधिवेशनको किचलोका बीच चुनावी मैदानमा उत्रिएका कोइरालाका लागि यो पराजय राजनीतिक भविष्यकै समीक्षा गर्ने मोड बनेको छ ।

विराटनगर–४, आयल निगम क्षेत्रमा जन्मिएकी रुविनाको बाल्यकाल र प्रारम्भिक शिक्षा विराटनगरकै माटोमा बितेको हो । इडेन नेशनल स्कूल र मेरील्यान्ड कलेज हुँदै काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेकी उनले आफूलाई विराटनगरकी छोरी र चितवनकी बुहारीका रूपमा चिनाउँदै चुनावी अभियान चलाएकी थिइन् ।

काठमाडौंलाई कर्मथलो बनाए पनि जन्मभूमिको सेवा गर्ने भन्दै उनी निर्वाचनमा मोरङ फर्किएकी थिइन् ।

रुविनाको राजनीतिक यात्रा स्वर्गीय उज्ज्वल थापा नेतृत्वको विवेकशील साझा पार्टीबाट सुरु भएको हो । सोही पार्टीको युवा संगठन र केन्द्रीय सदस्यका रूपमा उनले आफूलाई निखार्दै ल्याइन् । विशेषगरी कोरोना महामारीका बेला विपन्नलाई तातो भोजन खुवाउने‘तातो भात अभियान’ र महिला हिंसा विरुद्धको सक्रियताले उनलाई भुइँतहका मानिसहरूसँग जोडेको थियो ।

नागरिक अधिकार, महिला सशक्तीकरण र सुशासनको मुद्दा बोकेर निर्वाचनमा होमिएकी रुविनाले अब संसदमा यी विषयलाई उठाउने बताएकी छन् । स्थायी सरकार निर्माण गरी जनताको हितमा काम गर्ने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.