
गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा (एमाले) र नेपाली कांग्रेसका प्रभावशाली नेताहरुलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर ढकाल विजयी भएका छन् ।
उनले नेकपा (एमाले)का प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई पछि पारेका हुन् । ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका डा. चन्द्र भण्डारी १३ हजार ५०५ मतमा सीमित भए ।
ढकालले आफ्नो जित सहिदहरुको बलिदानको परिणाम भएको बताए । यो जित ७६ जना सहिदहरुको भएको दाबी गर्दै उनले आफूहरु खुसी साट्न भन्दा पनि काम गर्न आएको बताए । उनले समर्थकहरूलाई फूलमाला लगाएर स्वागत नगर्न पनि आग्रह गरेका छन् ।
‘फूलमाला हामीलाई होइन, सहिदलाई लगाउने हो । हामी यहाँ उत्सव मनाउन होइन, काम गर्न आएका हौं,’ उनी भन्छन् । जित पछि ढकालले चिदिचौरमा रहेको सहिद शमशेरबहादुर खत्रीको सालिकमा फूल माला लगाएका थिए ।
























