
विराटनगर । केही समय अघिसम्म उनको परिचय गृहिणी र गाउँ-ठाउँमा खटिने महिला स्वास्थ्य स्वयंसेविकामा सीमित थियो । तर, ४२ वर्षीया आशा झाको परिचय अब फेरिएको छ । स्थापित राजनीतिक दलका ‘हेभीवेट’ नेताहरूलाई ठूलो मतान्तरले पछार्दै आशा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छ न्
।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी झाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता दशकौँ पुराना दलहरूको किल्ला भत्काउँदै सिंहदरबारको यात्रा तय गरेकी हुन् ।
निर्वाचनको सुरुवाती चरणमा ठूला दलका उम्मेदवारले आशालाई मुख्य प्रतिस्पर्धी नै मानेका थिएनन् । तर, परिणाम आउँदा उनले ३०,४३४ मतसहित सानदार जित हासिल गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलकुमार लालबानीले जम्मा ९,४१५ मत प्राप्त गरे । झा र लालबानीबीचको मतान्तर २१,०१९ छ ।
याे क्षेत्रमा जनता समाजवादी पार्टीका राजकुमार यादव (८,७४७ मत), माओवादी केन्द्रका शिवकुमार मण्डल (८,६१४ मत) र एमालेका मनोजकुमार अग्रवाल (६,९४५ मत) निकै पछि परे । अघिल्लो निर्वाचनमा विजयी भएका योगेन्द्र मण्डलले त यसपटक ४,१९९ मत मात्रै पाउन सके ।
आशाको पृष्ठभूमि सक्रिय राजनीति थिएन । उनी समाज सेवा र स्वास्थ्य क्षेत्रमा रमाउन चाहन्थिन् । राजनीतिप्रति उनको खासै रुचि पनि थिएन । तर, एउटा घटनाले उनको सोच बदलियो । ‘अधिकार माग्न जाँदा जनतामाथि बर्बरतापूर्वक गोली प्रहार भएको देखेपछि मेरो भित्र विद्रोहको ज्वाला बल्यो,’ उनले केही समय अघि भनेकी थिइन् ।
आशाको परिवारको इतिहास राजनीतिक छ । २००७ सालको क्रान्तिका सहिद डा. कुलदीप झा नाताले उनका हजुरबुबा पर्छन् । उनको परिवार लामो समयदेखि कांग्रेसको राजनीतिमा जोडिएको थियो ।
रोचक कुरा के छ भने, २०७९ सालको स्थानीय तह निर्वाचनमा उनका श्रीमान् आमोदकुमार झा विराटनगर-१३ को वडाध्यक्षमा कांग्रेसबाट चुनाव लडेका थिए । तर, उनी राप्रपाका उम्मेदवारसँग पराजित भए । श्रीमान् वडामा पराजित भएको तीन वर्ष नबित्दै श्रीमती आशाले भने ‘घण्टी’ चिह्न लिएर सिधै केन्द्रको राजनीतिमा फड्को मारिन् ।
उम्मेदवारी घोषणा हुँदा आशाले आफ्नै पार्टीभित्रबाट पनि चुनौती सामना गर्नुपरेको थियो । रास्वपा नेता मनिष झाकी आफन्त भएकाले उनलाई ‘नातावाद’ को आधारमा टिकट दिएको आरोप लागेको थियो । तर, विराटनगरका मतदाताले उनलाई दिएको भारी मतले ती सबै आलोचनाहरूलाई किनारा लगाइदिएको छ ।
संसद छिर्नुअघि उनले आफ्ना स्पष्ट एजेण्डाहरू अघि सारेकी छन् । विराटनगरका बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने वातावरण बनाउने, युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न स्थानीयस्तरमै अवसरहरू सिर्जना गर्ने र सरकारी सेवामा सुशासन कायम गर्ने उनको मुख्य संकल्प छ ।
























