मोरङ–६ बाट समानुपातिकमा पनि रास्वपालाई नै धेरै मत

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार १९:४१

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को समानुपातिक तर्फको मतगणना पनि सकिएको छ । शनिबार साँझ सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै धेरै मत प्राप्त गरेको छ ।

रास्वपाले अन्य स्थापित एवं परम्परागत दलहरूलाई निकै ठूलो मतान्तरले पछाडि पार्दै ऐतिहासिक मत पाएको हो । रास्वपाले ५४ हजार ५ सय मत पाएको छ ।

प्रत्यक्षतर्फ पनि रास्वपाकै रुविना आचार्य भारी मतान्तरले विजयी भएकी थिइन् । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा उनीसँग पराजित भएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला १२ हजार ८५० मतमा सीमित हुन पुगेका थिए ।

यद्यपि, रास्वपाले यो क्षेत्रबाट समानुपातिकमा भन्दा प्रत्यक्षतर्फ १ हजार १३ मत धेरै पाएको छ । तर, रास्वपाको समानुपातिक मत अन्य दलको तुलनामा निक्कै बढी हो ।

दोस्रो स्थानमा रहेको कांग्रेसले ११ हजार ९६४ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ७ हजार २४ मतका साथ तेस्रो भएको छ ।कांग्रेस र एमालेले पनि प्रत्यक्षतर्फ नै बढी मत पाएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार ६३६ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १ हजार ९३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल १ लाख ४० हजार ७०८ जना मतदाता रहेको मोरङ–६ मा समानुपातिकतर्फ ९१ हजार ५१२ मत खसेको थियो । जसमध्ये ८६ हजार ७५६ मत सदर र ४ हजार ७५६ मत बदर भएको छ ।

मुलुकका ठूला र पुराना दलहरूको तुलनामा नयाँ दल रास्वपाले मोरङ क्षेत्र नम्बर ६ बाट समानुपातिकतर्फ प्राप्त गरेको मतले राजनीतिक वृत्तमा चर्चा कमाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.