एमाले अध्यक्ष ओलीसँग लड्न नपाएका यज्ञमणि मोरङबाट विजयी

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २३, शनिबार २०:४३

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् ।

४१ वर्षीय न्यौपानेले श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामालाई पराजित गरेर संसदको यात्रा तय गरेका हुन् । उनले २७ हजार ३६७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी लामाले १७ हजार ५२२ मत पाइन् । उनीहरुबीचको मतान्तर ९ हजार ८४५ छ ।

अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका खड्गबहादुर फागो तेस्रो, नेकपा (एमाले)का घनश्याम खतिवडा चौथो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कुलप्रसाद साम्बा पाँचौं भए । फागोले ११ हजार ९८६, खतिवडाले ९ हजार ८२३ र साम्बाले २ हजार २२४ मत मात्रै ल्याए ।

यस क्षेत्रमा विगतमा कांग्रेस–एमालेको पकड थियो । यो पटक कानुन व्यवसायी यज्ञमणि विजयी हुँदा श्रम संस्कृति पार्टी दोस्रो भयो । अधिवक्ता न्यौपानेको चुनावी यात्रा रोचक छ ।

सुरुमा उनले झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न चाहेका थिए । त्यहाँ सबैसँग भेटघाटसमेत चलाए । तर, ओलीसँग लड्न पाएनन् । दमक नै घर भएका उनले ओलीसँग लड्न नपाएपछि झापा–५ छाडिदिए ।

ओलीलाई चुनौती दिन पार्टीका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) आउने भएपछि अन्तिम समयमा चुनावी क्षेत्र परिवर्तन गरेर न्यौपाने मोरङ १ मा आएका हुन् । झापा–५ र मोरङ–१ सिमानामा पर्ने निर्वाचन क्षेत्र हुन् ।

झापामा ओलीसँग लड्न नपाएका उनले छिमेकी जिल्ला मोरङको क्षेत्र आएर भए पनि संसदको यात्रा तय गरे । झापा–५ मा पनि बालेनसँग ओली पराजित भइसकेका छन् ।

पेसाले कानुन व्यवसायी रहेका यज्ञमणिको पुर्ख्यौली घर झापाको दमकमा भए पनि उनी लामो समयदेखि काठमाडौंलाई कार्यक्षेत्र बनाएर बसिरहेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग निकट सम्बन्ध रहेका उनी पार्टीभित्र बौद्धिक नेताका रूपमा चिनिन्छन् ।

यसअघि उनले नेपाल बार एसोसिएसनको महासचिव पदमा समेत उम्मेदवारी दिएका थिए । यद्यपि, बारको निर्वाचनमा उनी पराजित भए ।

तर, कानुन क्षेत्रको हारलाई राजनीतिमा प्रवेश गरेर जितमा बदल्दै उनी अहिले संघीय संसदमा पुग्न सफल भएका छन् । मोरङ–१ बाट न्यौपानेको विजयसँगै रास्वपाले मोरङसहित पूर्वी नेपालमा आफ्नो बलियो उपस्थिति देखाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.