
दुहबी । सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोककुमार चौधरी भारी मतान्तरसहित विजयी भएका छन् ।
स्थापित दलका प्रभावशाली नेताहरूलाई पछि पार्दै चौधरी ४७ हजार ४२१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यससँगै सुनसरी–३ मा रास्वपाले उल्लेखनीय राजनीतिक सफलता हासिल गरेको छ ।
चौधरीले जित हासिल गरिरहँदा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नेकपा (एमाले)की नेतृ भगवती चौधरीको लज्जास्पद हार भएको छ । निर्वाचन परिणामअनुसार चौधरीका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरे । लामो समयदेखि सुनसरीको राजनीतिमा प्रभाव जमाएका गच्छदार यसपटक भने मतदाताबाट अपेक्षित समर्थन जुटाउन असफल भए ।
उनले चौधरीसँग ठूलो मतान्तरले पराजय बेहोर्नुपरेको छ । उनीहरुबीचको मतान्तर २६ हजार ९२० छ । नेपाली राजनीतिका खेलाडी मानिने गच्छदारले यति ठूलो मतान्तरको कल्पना पनि गरेका थिएनन् ।
त्यस्तै, एमाले उम्मेदवार भगवती चौधरी १५ हजार ८३ मत मात्र प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भइन् । एमालेका तर्फबाट बलियो प्रतिस्पर्धा हुने अनुमान गरिए पनि मत परिणामले त्यो अनुमानलाई असफल सावित गरेको छ । चौधरी त्यही क्षेत्रको निवर्तमान सांसद पनि हुन् ।
निर्वाचन परिणामले सुनसरी–३ मा पुराना दलप्रति मतदाताको असन्तुष्टि बढेको देखाउँछ । परम्परागत रूपमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने मानिएको यो क्षेत्रमा यसपटक नयाँ शक्तिको रूपमा उदाएको रास्वपाले निर्णायक विजय हासिल गरेको हो ।
चौधरीको जितसँगै मतदाताले परिवर्तनको पक्ष लिएको स्पष्ट हुन्छ । चुनावी अभियानका क्रममा चौधरीले सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको प्रतिबद्धता व्यक्त गरेका थिए । उनको मुद्दामा मतदाता आकर्षित भए ।
गच्छदार र भगवती चौधरीजस्ता अनुभवी नेताहरूको पराजयलाई धेरैले अप्रत्याशित परिणामका रूपमा लिएका छन् । राजनीतिका खेलाडीलाई हराउँदै नयाँ शक्तिको रुपमा उदाएको दलका उम्मेदवार विजयी हुनुले सुनसरी–३ मा पुरानो राजनीतिक विरासतमाथि ठूलो धक्का पुगेको छ ।
























