
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरीको धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका उनी ठूलो मतान्तरले विजयी बनेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । उनीहरुबीचको मतान्तर ८ सय ४९२ छ ।
सुनसरी–१ बाट उम्मेदवार बनेका नेकपा (एमाले)का टीकराम लिम्बूले ६ हजार ४६३, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत मात्रै प्राप्त गरे ।
साम्पाङ धरानको मेयरबाट राजीनामा दिएर दल खोल्दै राजनीतिमा आएका थिए । २०७९ सालको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवार बनेर उनी धरानको मेयरमा निर्वाचित भएका हुन् ।
























