के गर्लान् अब कांग्रेस सभापति थापा ?

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २४, आइतबार १८:२४

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट पार्टी सभापति गगन थापाको अप्रत्याशित पराजयपछि नेपाली कांग्रेसभित्र गम्भीर राजनीतिक र नैतिक बहस सुरु भएको छ । १८ वर्षदेखि संसद्मा निरन्तर रहँदै आएका थापाको हारलाई कांग्रेसका नेताहरूले केवल एक क्षेत्रको परिणाम मात्र नभई पार्टीको आन्तरिक रणनीति र नेतृत्वको असफलताका रूपमा विश्लेषण गर्न थालेका छन् ।

विशेष महाधिवेशनबाट नेतृत्व सम्हालेको छोटो समयमै आफ्नै सुरक्षित क्षेत्र काठमाडौँ–४ छाडेर सर्लाही जानुलाई थापाको राजनीतिक भूलका रूपमा हेरिएको छ । माघ ६ गतेको मनोनयनका बेला पर्याप्त तयारी बिना सर्लाही रोज्नुको पृष्ठभूमि र त्यसका सूत्रधारबारे पार्टीभित्रै ‘खासखुस’ र असन्तुष्टि चुलिएको छ ।

सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले निर्वाचनको यो लज्जास्पद हारलाई थापाको नैतिकतासँग जोड्दै राजीनामाको माग गर्न थालेका छन् । उनीहरूले विशेष महाधिवेशनको औचित्य र वैधानिकतामाथि समेत प्रश्न उठाएका छन् ।

विद्यार्थी राजनीतिदेखि नै ‘अपराजित’ छविका साथै संसदमा प्रखर तार्किक नेताका रूपमा स्थापित थापाको अनुपस्थितिले आगामी संसद्मा प्रमुख प्रतिपक्षको भूमिका कमजोर हुने चिन्ता एकथरीले व्यक्त गरेका छन् । ‘प्रोजेक्ट गभर्मेन्ट’ मार्फत राज्य सञ्चालनको खाका तयार पारेर प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गरेका थापाका लागि यो नतिजा व्यक्तिगत र राजनीतिक दुवै हिसाबले ठूलो धक्का सावित भएको छ ।

थापासँगै शेखर कोइराला, प्रदीप पौडेल, गुरुराज घिमिरे र मिनेन्द्र रिजाल जस्ता प्रभावशाली नेताहरूलाई समेत ‘रास्वपाको लहर’ ले बगाएपछि कांग्रेस रक्षात्मक अवस्थामा पुगेको छ । यतिबेला कांग्रेसभित्र स्पष्ट दुई धार देखिएको छ । संस्थापन इतर पक्षले हारको जिम्मेवारी लिँदै थापाले मार्गप्रशस्त गर्नुपर्ने तर्क अघि सारेको छ भने अर्को पक्षले पार्टीको पुनर्जागरणका लागि थापाको विकल्प नभएको दाबी गरिरहेको छ ।

३२ वर्ष लामो चुनावी यात्रामा दोस्रो पटक पराजय व्यहोरेका थापाले अब पार्टीको नेतृत्व र आफ्नो राजनीतिक भविष्यलाई कुन दिशामा लैजान्छन् भन्ने विषय यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.