
विराटनगर । मुलुकको पछिल्लो राजनीतिक समीकरणमा निकै ठुलो उलटफेर गर्दै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामले नेपाली राजनीतिको स्थापित ‘लिगेसी’लाई भत्काइ दिएको छ ।
फागुन २१ गते भएको निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी रहँदा, पूर्वप्रधानमन्त्रीदेखि दशकौँसम्म सत्ताको बागडोर सम्हालेका शीर्ष नेताहरूको संसदीय यात्रामा पूर्णविराम लागेको हो । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गराएको यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकभर ऐतिहासिक जनलहर सिर्जना गरेको छ ।
काठमाडाैं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्री र पार्टीको वरिष्ठ नेताका रूपमा अघि सारेर निर्वाचनमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ झन्डै २ तिहाइ सिटमा जित हासिल गरेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले हालसम्म १२१ क्षेत्रमा विजयी भइसकेको छ । समानुपातिकतर्फ पनि रास्वपाको पक्षमा जनलहर देखिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार रास्वपाले २६ लाख ९ हजार २९७ मत प्राप्त गर्दै पहिलो दल बनेको छ ।
संसदीय राजनीतिमा लामो अनुभव भएका नेपाली काँग्रेस र नेकपा (एमाले) यस पटक नराम्रोसँग पछारिएका छन् । काँग्रेसले प्रत्यक्षतर्फ १७ सिटमा चित्त बुझाउनु परेको छ भने एमाले ७ सिटमा खुम्चिएको छ । त्यस्तै, नेकपाले ७, श्रम संस्कृति पार्टीले ३ र राप्रपाले १ स्थानमा मात्र जित निकाल्न सकेका छन् ।
यस निर्वाचनको सबैभन्दा ठुलो धक्का स्थापित दलका प्रमुख र प्रभावशाली नेताहरूलाई लागेको छ । नेपाली काँग्रेसका पार्टी सभापति गगनकुमार थापा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशमशेर राणा, प्रकाश रसाइली स्नेही पराजित भए । यस्तै, प्रभावशाली नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, एनपी साउद र महालक्ष्मी उपाध्याय ‘डिना’को पनि संसदीय यात्रा रोकिएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय रघुवीर महासेठ र लेखराज भट्ट पराजित भए । यस्तै, सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, महेश बस्नेत, डा. राजन भट्टराई तथा वरिष्ठ नेताहरू ईश्वर पोखरेल, देवराज घिमिरे र प्रदीप ज्ञवालीले पनि पराजय व्यहोरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने विजयी भएका छन् । तर, उनका सहकर्मीहरू सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, महिन्द्रराय यादव, राजेन्द्रप्रसाद पाण्डे र शक्ति बस्नेत पराजित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र कमल थापासमेत पराजित भएका छन् । वि.सं. २०४८ देखि संसद्मा उपस्थिति जनाउँदै आएको नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालसहित कुनै पनि उम्मेदवारले जित निकाल्न नसक्दा सो पार्टी संसद् बाहिर धकेलिएको छ ।
२०६४ को मधेस आन्दोलनपछि स्थापित मधेसवादी दल र तिनका नेतृत्वकर्ताहरूलाई पनि मतदाताले यस पटक अस्वीकार गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउत र आम जनता पार्टीका अध्यक्ष प्रभु साह पराजित भएका छन् । निर्वाचनको यो नतिजाले नेपाली राजनीतिमा पुराना पात्र र प्रवृत्तिको अन्त्य भएको संकेत गरेको छ भने युवा नेतृत्व र नयाँ शक्तिप्रति जनताको तीव्र चाहना प्रकट गरेको छ ।
























