सुनसरीमा पुराना दलको विरासत ढल्यो, रास्वपा र श्रम संस्कृतिकाे उदय

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २५, सोमबार १८:४८

विराटनगर । सुनसरीमा जिल्लामा यसपटक अप्रत्याशित चुनावी नतिजा निस्किएको छ । दशकौँदेखि नेकपा एमाले र नेपाली कांग्रेसको बलियो पकड रहँदै आएको सुनसरीका चारवटै निर्वाचन क्षेत्रबाट पुराना दलहरू बढारिएका छन् । नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन क्षेत्रमा सानदार जित दर्ता गरेको छ । एउटा क्षेत्रमा श्रम संस्कृति पार्टी विजयी भएकाे छ ।

‘लाल किल्ला’मा हर्क साम्पाङको उदय

कम्युनिस्ट पार्टीहरूको गढ मानिने सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सानदार जित हासिल गरेका छन् । धरानको खानेपानी आन्दोलनबाट चर्चामा आएका साम्पाङ धरान उपमहानगरपालिकाकाे मेयरबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए । उनले ३५,७४१ मत प्राप्त गर्दै संसद्को यात्रा तय गरे । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाकी गोमा तामाङले २७,२४९ मत ल्याउँदा एमालेका टिकाराम लिम्बुले ६,४६३ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा याे क्षेत्रबाट अशोक राई विजयी भएका थिए ।

क्षेत्र नम्बर २ मा लालबिक्रम

सुनसरी क्षेत्र नम्बर २ मा रास्वपाका लालबिक्रम थापाले भारी मतान्तरले जित निकालेका छन् । थापाले ५७,३४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरू निकै पछि परे । कांग्रेस उम्मेवार राजीव कोइरालाले १६,०७१ मत मात्र पाए  । एमालेका सुजन लामा ८,३०३ मत प्राप्त गरे ।  २०७९ को निर्वाचनमा एमालेका भीम आचार्यले जितेको यो क्षेत्रमा यसपटक रास्वपाको लहरले पुराना दललाई विस्थापित गरिदिएको छ ।

अशाेकसँग पछि परे गच्छदार र चौधरी

हेभिवेट नेताहरूको क्षेत्र मानिने सुनसरी-३ मा पनि रास्वपाका अशोककुमार चौधरीले बाजी मारेका छन् । उनले ४७,४२१ मत ल्याएर विजयी हुँदा पुराना नेता विजयकुमार गच्छदारले २०,५०१ मत प्राप्त गरे । कांग्रेस नेता गच्छदार पूर्वमन्त्री हुन्र । अघिल्लो पटककी विजेता तथा एमाले नेतृ भगवती चौधरी भने १५,०८३ मतसहित तेस्रो स्थानमा रहिन् ।  यस क्षेत्रमा लामो समयदेखि गच्छदार र चौधरीकै प्रतिस्पर्धा हुने गरेकोमा यसपटक मतदाताले नयाँ अनुहारलाई रोजेका छन् ।

क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री पराजित

सुनसरी क्षेत्र नम्बर ४ मा रास्वपाका दीपककुमार साहले पूर्वमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेका छन् । साहले ४२,७७१ मत प्राप्त गर्दा कार्की १६,५८७ मतमा रोकिए । एमालेका जगदिशप्रसाद कुसियैतले ८,६३१ मत मात्र प्राप्त गरे । २०७९ मा झिनो मतान्तरले जितेका कार्कीका लागि यसपटकको चुनावी परिणाम निराशाजनक बन्यो । एमाले र कांग्रेस जस्ता स्थापित दलहरू नील हुनु र रास्वपा तथा श्रम संस्कृतिकाे उदयले मतदातामा ‘परिवर्तनको तीव्र चाहना’रहेको सन्देश दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.