
धनकुटा । धनकुटामा मतदाता शिक्षा प्रभावकारी नभएका कारण बदर मतकाे संख्या बढी पाइएकाे छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । मतदाता शिक्षाका लागि धनकुटामा रहेका ७ वटै स्थानीय तहका सामाजिक विकास शाखा प्रमुखलाई अनुगमन अधिकृत तोकिएको थियो । सबै वडामा स्वयंसेवक पनि परिचालन गरिएका थिए ।
तर, मतगणनाको परिणाम हेर्दा ठुलो मात्रामा मत बदर भएको छ ।
प्रत्यक्षतर्फ कुल एक लाख १८ हजार ४२५ मतदातामध्ये ६४ हजार ९१ र समानुपातिक तर्फ ६४ हजार ८८६ मत खसेको थियो । जसमध्ये प्रत्यक्षमा ५९ हजार २०८ र समानुपातिकमा ६१ हजार २९२ मत मात्रै सदर भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धनकुटामा प्रत्यक्षतर्फ ४ हजार ८८३ मत बदर भएकाे छ । समानुपातिक तर्फ ३ हजार ५९४ मत बदर भएको छ । प्रत्यक्षमा खसेको मतमध्ये ७.६२ प्रतिशत मत बदर हुँदा समानुपातिकतर्फ ५.५४ प्रतिशत मत बदर भएको छ ।
























