
संखुवासभा । एउटै मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का डा. अर्जुनकुमार कार्की विजयी भएका छन् ।
सदरमुकाम खाँदबारीमा सोमबार राति मतगणना सम्पन्न हुँदा १५ हजार ६ सय ३६ मत ल्याएर कार्की निर्वाचित भएका हुन् । सुरुवाती गणनादेखि नै अग्रता बनाएका कार्की अन्तिम मतपरिणाम घोषणा हुँदासम्म त्यसलाई कायम राखेर विजय हासिल गर्न सफल भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत ल्याए । नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठ १३ हजार २७१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा राईले ९ हजार ८५७ मत प्राप्त गरिन् । निर्वाचित भएपछि कार्कीले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै संखुवासभा जिल्लाको समग्र विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।
संखुवासभामा १ लाख १९ हजार ६३० मतदातामध्ये ६२ हजार ९३७ मत खसेको थियो । करिब ४ हजार मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
























