हर्क साम्पाङ र बालेन शाह ।काठमाडौं । स्थानीय तहको जिम्मेवारी छाडेर संघीय सांसद बन्दै संसद छिर्न दौडिएकामध्ये ११ जना असफल भएका छन् । ३ जना भने सफल भएर संघीय संसद पुगेका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूमध्ये १४ जनाले पदबाट राजीनामा दिएर संघीय संसद प्रवेश गर्ने लक्ष्यसहित उम्मेदवारी दर्ता गराएका थिए । स्थानीय सरकारमा काम गर्दै चर्चा कमाएका जनप्रतिनिधिहरूले आफ्नो अनुभवलाई केन्द्रीय राजनीतिमा उपयोग गर्ने दाबी गरेका थिए ।
तर, मतपरिणाम सार्वजनिक भएपछि तीमध्ये ३ जना मात्रै सांसदमा निर्वाचित हुन सकेन । बाँकी ११ जना भने पद पनि गुमाउने र चुनाव पनि हार्ने अवस्थाको सामना गर्न बाध्य भएका छन् ।
स्थानीय तहबाट उठेर राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल हुनेमध्ये काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र वीरगञ्ज महानगरपालिकाका वडाध्यक्ष सुशील साह कानु रहेका छन् । उनीहरू आफ्नो लोकप्रियतालाई मतमा रूपान्तरण गर्दै संसद प्रवेश गर्न सफल भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका बालेन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका बलिया प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै विजयी भए । स्थानीय तहमा स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका बालेन केन्द्रीय राजनीतिमा पनि आफ्नो प्रभाव कायम राख्न सफल भएका छन् ।
उनको जितलाई नयाँ पुस्ताको राजनीतिमा प्रवेशको प्रतीकका रूपमा पनि व्याख्या गरिएको छ । त्यस्तै, धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्क साम्पाङ पनि राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल भएका छन् । उनले आफ्नै ‘श्रम संस्कृति पार्टी’ गठन गरेर सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए ।
उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार गोमा तामाङ (सरिन) र आफ्नै वडाका वडाध्यक्ष समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज भट्टराईलाई पछि पार्दै साम्पाङले विजय हासिल गरेका हुन् । सामाजिक अभियान र श्रम संस्कृतिका विषयमा सक्रिय रहँदै आएका साम्पाङको जितलाई स्थानीय जनसमर्थनको परिणामका रूपमा हेरिएको छ ।
त्यस्तै, वीरगञ्ज महानगरपालिकाको वडाध्यक्ष पद छाडेर रास्वपाको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका सुशील साह कानुले पनि जित निकाल्दै वडाबाट सिधै संघीय संसद भवन छिर्ने अवसर पाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री अजय चौरसियालाई भारी मतले पराजित गरेका थिए ।
तर, स्थानीय तहबाट संसदको यात्रा गर्ने सपना बोकेर चुनावी मैदानमा उत्रिएका अन्य ११ जना जनप्रतिनिधिका लागि भने निर्वाचन परिणाम निराशाजनक बनेको छ । स्थानीय पद त्यागे पनि संसद प्रवेश गर्न नसक्दा उनीहरूले दुवैतर्फबाट अवसर गुमाएका छन् ।
चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पद छाडेर चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी रेणु दाहाल पनि पराजित भएकी छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट नेकपामा रूपान्तरण भएर चुनावी प्रतिस्पर्धामा उत्रिएकी दाहाललाई रास्वपाकी सोविता गौतमले हराइन् ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाका पूर्वमेयर अशोक व्याञ्जु श्रेष्ठ काभ्रे–२ मा तेस्रो स्थानमा सीमित भए । उनलाई रास्वपाका बदन भण्डारीले पराजित गरेका हुन् । त्यसैगरी, मोरङको रंगेली नगरपालिकाका पूर्वमेयर दिलिप बगडिया (अग्रवाल) मोरङ–२ मा एमालेबाट उम्मेदवार बनेका थिए । तर, रास्वपाका कृष्णकुमार कार्कीसँग पराजित भए ।
इलाम–१ मा नेकपाबाट उम्मेदवारी दिएका सूर्योदय नगरपालिकाका पूर्वमेयर रणबहादुर राई पाँचौं स्थानमा सीमित भए । उक्त क्षेत्रमा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा प्रवेश गरेका टीकापुरका पूर्वमेयर रामलाल डगौरा थारू पनि कैलाली–१ मा पराजित भए । सो क्षेत्रमा रास्वपाकी कोमल ज्ञावली विजयी हुँदा थारू तेस्रो स्थानमा सीमित भएका हुन् ।
गाउँपालिका अध्यक्ष पद छाडेर चुनाव लडेका केही उम्मेदवारले पनि सफलता हासिल गर्न सकेनन् । थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष पद त्यागेर सोलुखुम्बुबाट उम्मेदवारी दिएका असिम राई नेपाली कांग्रेसका प्रकाश सिंह कार्कीसँग पराजित भए । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष पद छाडेर उदयपुर–२ मा उम्मेदवारी दिएका नेकपाका मेजर कुमार राईको त जमानत नै जफत भयो ।
त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई बाँके–२ मा छैटौं स्थानमा पुगे । ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा एमालेबाट उम्मेदवार बने पनि चौथो स्थानमा सीमित भइन् । वीरगञ्जका वडाध्यक्ष रामकिशोर सिंह र धरानका वडाध्यक्ष मनोज भट्टराई पनि चुनावमा पराजित भएका छन् ।
संसदीय दौडमा सहभागी भएका १४ जना स्थानीय जनप्रतिनिधिमध्ये २ महिला उम्मेदवार पनि थिए । तर, उनीहरू दुवै पराजित भए । भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेणु दाहाल र ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा दुवैले चुनाव जित्न सकेनन् ।
स्थानीय सरकार सञ्चालनको अनुभवलाई संघीय संसदमा प्रयोग गर्ने भन्दै पद त्यागेर चुनावी मैदानमा उत्रिएका ११ जना जनप्रतिनिधिका लागि यो निर्वाचन ठूलो झड्का बनेको छ । उनीहरू अब न स्थानीय सरकारमा फर्कन सक्छन्, न त संसदमै प्रवेश गर्न सके । स्थानीयबाट राष्ट्रिय राजनीतिमा छलाङ मार्ने उनीहरूको प्रयास अन्ततः असफल सावित भएको छ ।
























