एमाले र नेकपा शून्य, रास्वपाको दबदबा

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार ०८:३६

पोखरा । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट गण्डकी प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको छ ।

प्रदेशका १८ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एउटा पनि सिट जित्न नसक्दा दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । यसअघि २०७९ को निर्वाचनमा एमालेले ५ र तत्कालीन माओवादी केन्द्र (हाल विभिन्न दल मिलेको बनेको नेकपा)ले २ सिट जितेका थिए ।

त्यतिबेला १० सिट जितेको नेपाली कांग्रेस यसपटक गण्डकीमा २ सिटमा खुम्चियो । मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ कांग्रेसका तर्फबाट निर्वाचित भए । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बनेका छन् ।

प्रदेशका बाँकी १५ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक सफलता हासिल गरेको छ । कास्कीका तीनै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । कास्की–१ मा खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ निर्वाचित भएका हुन् ।

त्यसैगरी, बागलुङ–१ मा सुशील खड्का, बागलुङ–२ मा सोम शर्मा, स्याङ्जा–१ मा धनञ्जय रेग्मी र स्याङ्जा–२ मा झविलाल डुम्रे विजयी भए । तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने निर्वाचित भएका छन् ।

नवलपुर–१ मा राजन गौतम, नवलपुर–२ मा मनिष खनाल, लमजुङमा धर्मराज केसी, पर्वतमा सागर भुसाल तथा गोरखा–१ मा सुधन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटीले पनि रास्वपाबाट जित हासिल गरेका छन् । गण्डकी प्रदेशको परिणामले पुराना दलहरूको प्रभाव घट्दै गएको र नयाँ शक्तिको उदय भएको देखाउँछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.