सुनसरी–१ मा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी नै पहिलो

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार ०९:१३

इटहरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा समानुपातिकतर्फको मतगणनामा हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टी नै पहिलो स्थानमा आएको छ ।

श्रम संस्कृति पार्टीले कुल सदर मतमध्ये ३२ हजार २ सय ३० मत प्राप्त गरेर अन्य दललाई पछि पारेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार समानुपातिकतर्फ खसेको कुल ८८ हजार ५ सय २ मतमध्ये ३ हजार १ सय २० मत बदर भएको छ । ८५ हजार ३ सय ८२ मत सदर भएको छ ।

मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३० हजार ३ सय ६९ मतसहित दोस्रो भएको छ । नेकपा (एमाले)ले ७ हजार ८७ र नेपाली कांग्रेसले ४ हजार ९ सय ९२ मत पाएका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ३ हजार ९ सय २८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को २ हजार ४ सय ४८ मत छ ।

समानुपातिकतर्फ अन्य दलले एक हजार मतसमेत कटाउन सकेनन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका साम्पाङ अहिले दल खोलेर राजनीतिमा सक्रिय छन् ।

मेयरबाट राजीनामा दिँदै श्रम संस्कृति पार्टीको नेतृत्व गरेर उनी चुनावमा गएका थिए । प्रत्यक्षतर्फ सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य जितेका साम्पाङको प्रभाव समानुपातिक मतपरिणाममा पनि देखिएको छ । यसले स्थानीय स्तरमा श्रम संस्कृति पार्टीको समर्थन आधार बलियो बन्दै गएको देखाउँछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.