
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी जिल्लाबाट समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सबैभन्दा धेरै मत गएको छ ।
प्रत्यक्षमा पहिलो बनेको रास्वपाले समानुपातिकमा पनि अत्यधिक मत पाएको हो । चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा प्रत्यक्षतर्फ रास्वपाले तीन क्षेत्रमा विजय हासिल गरेको छ । समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गर्दै जिल्लामा आफ्नो प्रभाव देखाएको हो ।
सुनसरीका चारै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ रास्वपाले कुल १ लाख ७८ हजार ३ सय ३३ मत प्राप्त गरेको छ । जसका कारण रास्वपा सुनसरीमा समानुपातिकतर्फ पहिलो दल बनेको हो । प्रत्यक्ष निर्वाचनमा क्षेत्र नम्बर २, ३ र ४ जितेको रास्वपाले सबै क्षेत्रमा समानुपातिकतर्फ पनि अन्य दलभन्दा उल्लेख्य मत ल्याएको छ ।
सुनसरी क्षेत्र नम्बर १ मा भने रास्वपा पहिलो बन्न सकेन । त्यहाँ प्रत्यक्षतर्फ जित्दै श्रम संस्कृति पार्टीले समानुपातिकमा पनि धेरै मत पाएको छ । रास्वपाले क्षेत्र नम्बर १ बाट ३० हजार ३ सय ६९, २ बाट ५७ हजार ५ सय ८१ मत, ३ बाट ४८ हजार ७२ र क्षेत्र नम्बर ४ बाट ४२ हजार ३ सय ११ मत प्राप्त गरेको छ । चारै क्षेत्रको मत जोड्दा रास्वपा सबैभन्दा ठूलो दल बनेको हो ।
सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ जित हासिल गरे पनि समानुपातिकतर्फ भने श्रम संस्कृति पार्टी जिल्लामा तेस्रो स्थानमा सीमित भएको छ । सो पार्टीले सुनसरीभरि कुल ४५ हजार ६ सय ९४ मत प्राप्त गरेको छ ।
तर, क्षेत्र नम्बर १ मा भने सामुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ । उसले ३२ हजार २ सय ३० मत पाएको हो । तर अन्य क्षेत्रमा भने मत निकै कम देखिएको छ । क्षेत्र नम्बर २ मा ७ हजार ९ सय ९७, ३ मा २ हजार २ सय ३ र ४ मा ३ हजार २ सय ६४ मत मात्र प्राप्त गरेको छ ।
प्रत्यक्षतर्फ चारै निर्वाचन क्षेत्रमा पराजित भएको नेपाली कांग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा देखिएको छ । कांग्रेसले सुनसरीबाट कुल ५२ हजार ३ सय ८३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कांग्रेसले क्षेत्र नम्बर १ बाट ४ हजार ९ सय ९२, २ बाट १३ हजार ५ सय ६, ३ बाट १७ हजार ४ सय ३ र ४ बाट १६ हजार ४ सय ८२ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ कमजोर देखिए पनि समानुपातिक मतमा भने कांग्रेस दोस्रो स्थानमा उक्लिएको हो ।
नेकपा (एमाले) भने सुनसरीमा समानुपातिकतर्फ चौथो स्थानमा सीमित भएको छ । एमालेले जिल्लाभरि कुल ३५ हजार ८ सय ९१ मत प्राप्त गरेको छ । एमालेले क्षेत्र नम्बर १ मा ७ हजार ८७, २ मा ८ हजार २ सय ७९, ३ मा १२ हजार ४ सय ५७ र क्षेत्र नम्बर ४ मा ८ हजार ६९ मत प्राप्त गरेको हो ।
त्यसैगरी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समानुपातिकतर्फ कुल १० हजार ७९ मत प्राप्त गर्दै पाँचौं स्थानमा पुगेको छ । सो पार्टीले क्षेत्र नम्बर १ मा ३ हजार ९ सय २८, २ मा १ हजार ८ सय ९२, ३ मा १ हजार ५ सय ४५ र क्षेत्र नम्बर ४ मा २ हजार ७ सय १४ मत प्राप्त गरेको हो ।
सुनसरीमा समानुपातिकतर्फ प्रमुख दलहरूबीच थोरै मत प्रतिस्पर्धा देखिए पनि केही साना दलले भने एक हजारभन्दा कम मत मात्र प्राप्त गरेका छन् । समग्र मतपरिणामले सुनसरीमा रास्वपालाई मतदाताको समर्थन बलियो रहेको देखाउँछ ।
























