
विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ मा कोशी प्रदेशमा पुराना दलको किल्ला ढलेको छ । दशकौँदेखि नेपाली कांग्रेस र नेकपा एमालेको बलियो ‘गढ’ मानिएको याे प्रदेशमा नयाँ शक्तिहरूको उदयसँगै पुराना दलहरू किनारा लागेका हुन् ।
कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १७ क्षेत्रमा सानदार जित निकाल्दै आफूलाई मुख्य शक्तिका रूपमा उभ्याएको छ । एमाले र कांग्रेस ४–४ क्षेत्रमा खुम्चिएका छन् भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ क्षेत्रमा अप्रत्याशित जित हात पारेको छ ।
२०७९ सालको निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेले १३ सिट जितेकाे थियाे । नेपाली कांग्रेस ९ वटा क्षेत्रमा विजयी हुँदा नेकपाले ३ क्षेत्र जितेकाे थियाे । जसपा नेपाल, राप्रपा र स्वतन्त्र उम्मेदवार १–१ क्षेत्र जितेका थिए । २०७९ को निर्वाचनमा निर्णायक देखिएको नेकपा याे पटक यसपटक एउटा क्षेत्र बाहेक अन्यत्र निकटतम प्रतिस्पर्धा समेत देखिएन ।
झापा र मोरङमा रास्वपाको ‘क्लिन स्वीप’
यो निर्वाचनको सबैभन्दा चर्चामा झापा क्षेत्र नम्बर ५ भयाे । नेकपा एमालेका अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओली रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) सँग भारी मतान्तरले पराजित भए । शाहले ६८,३४८ मत प्राप्त गर्दा ओलीले जम्मा १८,७३४ मतमा चित्त बुझाउनुपर्यो ।
झापाका सबै ५ वटै क्षेत्रमा रास्वपाले जित निकालेको छ । क्षेत्र नं १ मा निशा डाँगी विजयी भइन् । क्षेत्र नं २ मा देवराज घिमिरेलाई पछि पार्दै इन्दिरा राना र क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई स्तब्ध पार्दै प्रकाश पाठक निर्वाचित भए । यस्तै क्षेत्र नं ४ बाट शम्भु प्रसाद ढकालले एमालेका लालप्रसाद सावालाई भारी मतान्तरले हराए ।
मोरङकाे क्षेत्र नं ६ मा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला रास्वपाकी रुविना आचार्यसँग पराजित भए । आचार्यले ५५,५१३ मत पाउँदा कोइराला १२,८५० मतमा समेटिए । मोरङकाे क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा कृष्ण कार्की, क्षेत्र नम्बर ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी र ५ मा आशा झा निर्वाचित भएर पुराना दलको वर्चस्व समाप्त पारे ।
सुनसरी र पहाडी जिल्लामा ‘श्रम संस्कृति’
सुनसरीमा पनि रास्वपाले ३ क्षेत्र जित्दा चार महिना अघि स्थापना भएकाे श्रम संस्कृति पार्टीले एउटा क्षेत्र जितेकाे छ । सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ३५,७४१ मतसहित विजयी भए । उनले रास्वपाकी गोमा तामाङलाई पराजित गरे । सुनसरीमा क्षेत्र नम्बर ४ बाट कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र क्षेत्र नम्बर ३ मा विजयकुमार गच्छदार जस्ता ‘हेभीवेट’ नेताहरू रास्वपाका उम्मेदवारसँग पराजित भए । क्षेत्र नम्बर २ मा लालबिक्रम थापा विजयी भए ।
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले काेशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरे । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भए ।
कहाँ जोगियो त पुराना दलको अस्तित्व ?
पुराना दलहरूले केही पहाडी र हिमाली जिल्लामा मात्र आफ्नो साख जोगाउन सफल भएका छन् ।
इलाम: क्षेत्र नं १ मा कांग्रेसका निस्कल राई विजयी भए ।
इलाम क्षेत्र नं २ मा एमालेका सुहाङ नेम्वाङ विजयी भए ।
पाँचथरमा कांग्रेसका नरेन्द्र कुमार केरुङ निर्वाचित भए ।
धनकुटामा एमाले उम्मेदवार राजेन्द्र राईले आफ्नो सिट सुरक्षित राखे ।
ताप्लेजुङमा एमालेका क्षितिज थेबेले जित निकाले ।
तेह्रथुम र सोलुखुम्बुमा कांग्रेसका सन्तोष सुब्बा र प्रकाशसिंह कार्की विजयी भए ।
संखुवासभा: एमालेका अर्जुनकुमार कार्कीले विजयी भए
उदयपुरका दुवै क्षेत्र र ओखलढुङ्गामा पनि रास्वपाले जित निकालेकाे छ । ओखलढुङ्गामा पूर्वप्रहरी एआइजी विश्वराज पोखरेलले कांग्रेसका कुमार लुइँटेललाई मात्र ५ मतको अन्तरले पराजित गरे ।
उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार पारशमणि गेलाल ३० हजार ५९० मतसहित निर्वाचित भए । क्षेत्र नम्बर २ मा रास्वपाका सुर्यबहादुर तामाङ्ग विजयी भए ।
२०८२ को यो मत परिणामले नेपाली राजनीतिमा ‘परम्परागत गढ’ भन्ने दलकाे भाष्यलाई गलत साबित गरिदिएकाे छ । विकास, सुशासन र नयाँ अनुहारप्रति जनताको तीव्र चाहनाले गर्दा स्थापित दलहरूका शीर्ष नेताहरू नै आफ्नै निर्वाचन क्षेत्रमा सुरक्षित रहन सकेनन् ।
























