निर्वाचन समीक्षा गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन नेकपाको निर्देशन

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार ११:३७

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समग्र समीक्षा गरी सात दिनभित्र प्रतिवेदन बुझाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाले ‘निर्वाचन विशेष निर्देशन–३’ पठाउँदै प्रत्येक निर्वाचन क्षेत्रका परिचालन समितिलाई यस्तो निर्देशन दिएको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित निर्देशनमा निर्वाचनका क्रममा भएका गतिविधिको तथ्ययुक्त अध्ययन गरी एक हप्ताभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन भनिएको छ। असामान्य अवस्था र विभिन्न षड्यन्त्रका बीच सम्पन्न निर्वाचनले लोकतन्त्रलाई पुनः लिकमा ल्याएको निष्कर्ष निकाल्दै नेकपाले अब संसद्मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारेको छ। यस निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ सिट प्राप्त गरेको छ।

पार्टीले अपेक्षा गरे अनुसारको परिणाम नआउनुमा सङ्गठन समायोजन नहुँदै निर्वाचनमा होमिनुपरेको, नयाँ चुनाव चिह्न र नीति जनतामा स्थापित गर्न समय नपुगेको नेतृत्वको बुझाइ छ। साथै, भदौ २३ र २४ गतेको घटनापछिको राजनीतिक अन्योल र मिडियामा फैलाइएका नकारात्मक प्रचारलाई चिर्न नसक्नुलाई पनि हारको कारण मानिएको छ।

नेतृत्वले माग गरेको प्रतिवेदनमा निर्वाचन परिचालन समितिको गठन, प्रचार अभियान, आर्थिक परिचालन, र सामाजिक सञ्जालको प्रयोगबारे विश्लेषण गर्न भनिएको छ। त्यसैगरी बुथ समिति निर्माण, विपक्षी दलका गतिविधि, मतको अवस्था र निर्वाचनका चुनौतीहरूलाई समेटेर सुझावसहितको यथार्थ विवरण पठाउन निर्देशन दिइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.