
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (शनिबार) बस्ने तयारी छ ।
निर्वाचनबाट झन्डै दुईतिहाइ नजिक पुगेको रास्वपाको बस्न लागेको बैठकको समय र स्थान भने अझै तय भइसकेको छैन । पार्टीका अनुसार सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर बैठकको समय र स्थान निश्चित गरिनेछ ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिसलगायत पार्टीका संगठनात्मक विषयमा छलफल हुने बताइएको छ । साथै, पार्टीको आगामी रणनीति र संसदीय गतिविधिका विषयमा पनि सचिवालयले निर्णय लिने सम्भावना छ ।
गत प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य सफलता हासिल गर्दै रास्वपा संसदमा ठूलो दलका रूपमा स्थापित भएको थियो । त्यसपछि पार्टीभित्रको आन्तरिक व्यवस्थापन, संसदीय नेतृत्व र संगठन सुदृढीकरणका विषयमा आन्तरिक छलफल तीव्र हुँदै आएको छ ।
रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । तर, संसदीय दलको नेता चयन गर्न विधान नै सच्याउनुपर्ने अवस्था छ । सचिवालय बैठकलाई पनि सोही सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ ।
























