
काठमाडौं। नेकपा (एमाले) को सचिवालय बैठकले पार्टीका काम र विभिन्न राजनीतिक घटनाक्रमका यथार्थ विवरण जनतासम्म स्पष्ट रूपमा लैजान नसक्दा निर्वाचनमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको बैठकले पार्टी नेतृत्वमाथि भएका आक्रमण र विशेषगरी भदौ २३ र २४ गतेका घटनाबारे भ्रम चिर्न नसक्नुलाई मुख्य कमजोरी ठानेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव लेखराज भट्टले पार्टीले गरेका सकारात्मक काम र नेतृत्वको सही भूमिकाबारे जनतालाई बुझाउन नसक्दा प्रतिकूल जनमत सिर्जना भएको बताए । उनले पार्टी र नेतृत्वविरुद्ध योजनाबद्ध रूपमा निर्माण गरिएको नकारात्मक भाष्यलाई तथ्यका आधारमा चिर्न नसक्दा निर्वाचनमा धक्का लागेको उल्लेख गरे । पार्टीमाथि भएका प्रहार र त्यसको वास्तविकताबारे जनस्तरमा प्रभावकारी सञ्चार हुन नसक्दा भ्रम पैदा भएको बुझाइ सचिवालयको छ ।
पदाधिकारीहरूबीच विवाद रहेको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा सचिव भट्टले आफूलाई त्यस्तो कुनै जानकारी नभएको बताए । उनले पार्टीभित्र आरोप–प्रत्यारोप भएको विषयमा आफू स्पष्ट नभएको भन्दै विवादको कुरालाई मत्थर पार्ने प्रयास गरे । एमालेले अबका दिनमा पार्टीका काम र दृष्टिकोणलाई तल्लो तहका कार्यकर्ता र आम जनतासम्म थप प्रभावकारी ढंगले पुर्याउने रणनीति बनाउने देखिएको छ ।
























