चुनावी मैदानमा अभागी गुरु बराल समानुपातिक काेटामा बन्दैछन् सांसद

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३०, शनिबार २०:५०

विराटनगर । गुरु बराल नेकपा एमालेभित्र परिचित नाम हाे । उनी पार्टीको आन्तरिक सत्ता र शक्तिमा सधैँ प्रभावशाली रहन्छन्, तर जनताको मत लिने चुनावी मैदानमा भने उनलाई ‘भाग्य’ले सायदै साथ दिन्छ ।

२१ फागुनकाे प्रतिनिधिसभा निर्वाचनमा १६ जनाको समानुपातिक सूची सिफारिस गर्दा एमालेले तिनै पुराना नेता बरालको नाम समावेश गरेको छ, जो पछिल्लो तीन दशकदेखि चुनावी राजनीतिमा ‘पराजित चेहरा’का रूपमा चिनिन्छन् ।

राजनीतिमा उतारचढाव सामान्य हो, तर बरालका लागि ‘हार’ एउटा शृङ्खला जस्तै छ । २०५१ सालको मध्यावधि निर्वाचनमा विजयी भएर संसदीय यात्रा सुरु गरेका बराल त्यसयताकाे संसदीय चुनावमा पराजित भए । त्यसयता उनले जति पटक संसदीय चुनावी मैदानमा पाइला टेके, रित्तो हात फर्किनुपर्‍यो ।

२०५६ को आमनिर्वाचन, २०६४ को पहिलो संविधानसभा (मोरङ–८) र २०७० को दोस्रो संविधानसभा (मोरङ–३) मा उनी निरन्तर पराजित भए । २०७४ मा टिकट नै नपाएका बराल २०७९ मा कोशीको मुख्यमन्त्री बन्ने चर्चा थियाे । तर, चुनाव हार्ने डरले उनी मोरङ ६(१) बाट अन्तिम समयमा पछि हटे ।

२०७८ माघमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन र एमाले उम्मेदवारबीच मत बराबर भएपछि हारजितको फैसला ‘गोलाप्रथा’बाट गरियो । विडम्बना, भाग्यको त्यो चिठ्ठामा पनि झापाका गोपाल बस्नेतले बाजी मारे भने बरालले ‘हार’ नै खेप्नुपर्‍यो ।

गत मंसिरमा सम्पन्न पार्टीको ११ औं महाधिवेशनमा पनि उनलाई कार्यकर्ताले रुचाएनन् । संस्थापन पक्षको बलियो साथ पाउँदा पनि उनी केन्द्रीय सदस्य र उपाध्यक्ष दुवै पदमा पराजित भए । त्यसअघि उनी सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त पदमा उनै पराजित बराललाई पार्टीले उपाध्यक्ष मनाेनित भएका थिए ।

एमालेभित्र बराललाई ‘वैचारिक नेता’ मानिन्छ । पार्टी पंक्तिमा उनी वैचारिक दख्खल राख्ने नेताका रूपमा परिचित भए पनि आम जनसमुदाय र कार्यकर्तामाझ उनको सम्बोधन सुन्ने धैर्यता कमै देखिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने बरालको प्रभाव चुनावी नतिजामा नदेखिए पनि पार्टीको निर्णय प्रक्रियामा भने बलियो छ । २०७९ को स्थानीय र प्रदेश निर्वाचनमा मोरङमा टिकट बाँड्ने साँचो उनकै हातमा थियो । २०७९ काे निर्वाचन पछि राष्ट्रपतिको उम्मेदवारका रूपमा समेत चर्चामा आएका बराल अन्तत सजिलो बाटो (समानुपातिक)बाट संसद् छिर्ने निश्चित भएको छ ।

२०३० सालदेखि राजनीतिमा होमिएका ६८ वर्षीय बराल २०४६ को जनआन्दोलन ताका मोरङ एमालेको कमान्डर थिए । प्रत्यक्ष चुनावमा ‘ट्याग’ लागेको पराजयको शृङ्खलालाई थाती राख्दै संसद यात्रा गरेका बरालले सदनमा पार्टीका एजेन्डालाई शसक्त रुपमा प्रस्तुत गर्न सक्ने नेताहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.