
काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। आइतबार सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै उनले अब उप्रान्त कुनै पनि चुनावी प्रतिस्पर्धामा उम्मेदवार नबन्ने र पदको राजनीतिमा सक्रिय नरहने स्पष्ट पारेका हुन्। संसदीय राजनीतिबाट बाहिरिने उनको यो निर्णयले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
डा. राउतले आफ्नो यो कदम राजनीतिबाट विश्राम नभई कार्यशैलीमा परिवर्तन मात्र भएको बताएका छन्। उनले पदमा नरहेरै पनि जनताको अधिकार, पहिचान र सामाजिक न्यायका लागि सडक र सदन बाहिरबाट निरन्तर सङ्घर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
आफ्ना विगतका दुई वटा संसदीय निर्वाचनका अनुभवहरू साझा गर्दै उनले दुवै पटक व्यक्तिगत इच्छा नहुँदा नहुँदै पनि पार्टीको अस्तित्व जोगाउन र कार्यकर्ताको दबाबमा उम्मेदवारी दिनुपरेको खुलासा गरे। २०७९ को निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउन र २०८२ को हालैको निर्वाचनमा कार्यकर्ताको मनोबल उच्च राख्न आफू चुनावी मैदानमा उत्रिएको उनले स्मरण गरे।
पछिल्लो निर्वाचनमा नतिजा आफ्नो पक्षमा नआए पनि उक्त निर्णयप्रति आफू सन्तुष्ट रहेको राउतले बताएका छन्। यदि आफू नउठेको भए पार्टीको हारको सम्पूर्ण दोष आफूमाथि नै आउने उनको विश्लेषण छ। सत्ता र पदको मोहमा फस्नुभन्दा समयमै त्याग गर्नु उचित हुने भन्दै उनले अबको आफ्नो समय जनमत पार्टीलाई स्थानीय र प्रदेश तहमा सुदृढ बनाउन खर्चिने बताएका छन्।
‘राजनीति केवल पदका लागि मात्र होइन’ भन्ने सन्देश दिँदै डा. राउतले आगामी दिनमा सङ्गठन निर्माण र जनसरोकारका मुद्दामा आफूलाई केन्द्रित गर्ने बताएका छन्।
























