पार्टीका सांसदमाझ संयमित बने लामिछाने, जिम्मेवार बन्न निर्देशन

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १६:३८

काठमाडौं। निर्वाचनमा अभूतपूर्व बहुमत नजिक पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राजनीतिक शैलीमा निकै परिवर्तन देखिएको छ। विगतका चुनाव केन्द्रित भाषणहरूमा आक्रामक र उत्तेजक देखिने लामिछाने बुधबार ग्वार्कोमा आयोजित पार्टीको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनमा निकै शान्त, संयम र जिम्मेवार रूपमा प्रस्तुत भए।

सभापति लामिछानेले निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय र लगानीकर्ताहरूलाई आफ्नो नेतृत्वप्रति भरोसा गर्न अपिल गर्दै विश्वासमा लिन खोजेका छन्। उनले पार्टीका कार्यकर्ता र समर्थकहरूलाई सामाजिक सञ्जालमा देखिने उत्तेजना र विपक्षीमाथि गरिने तुच्छ टिप्पणीहरू तत्काल बन्द गर्न निर्देशन दिएका छन्। सांसदहरूलाई जनताको शासक होइन, सेवक र जनता जस्तै बनेर प्रस्तुत हुन उनले आग्रह गरे।

पार्टी स्थापनाको साढे तीन वर्षमा अनेकौँ चुनौती बेहोरेको स्मरण गर्दै लामिछानेले अब सरकारमा गएर परिणाममार्फत नागरिकको गुन तिर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कांग्रेस, एमाले र माओवादी जस्ता दलहरूलाई उनीहरूको ऐतिहासिक योगदानका लागि धन्यवाद दिँदै भविष्यको जिम्मेवारी अब रास्वपाले लिने बताए।

नागरिकले पुराना दललाई ३५ वर्ष कुरे पनि आफूहरूलाई ३५ दिन पनि नकुर्ने भन्दै उनले सांसदहरूलाई अनुशासनमा रहन र ‘राइट टु रिकल’ (प्रत्याह्वान) को व्यवस्था कडाइका साथ लागू हुने चेतावनी समेत दिए।

उनले मन्त्री बन्ने दौडमा नलाग्न र स्वार्थ समूहहरूको प्रभावबाट जोगिन सांसदहरूलाई सतर्क गराएका छन्। वर्तमान संविधान र व्यवस्थाप्रति आफ्नो आस्था अविच्छिन्न रहेको स्पष्ट पार्दै उनले कुनै पनि आशंका नगर्न आग्रह गरे। सरकार बनेकै साँझदेखि ढाल्ने प्रयास हुने समूहहरू सक्रिय रहने हुँदा सचेत रहनुपर्ने उनको भनाइ थियो।

यसैबीच, पार्टीका वरिष्ठ नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन शाह भने स्वास्थ्यका कारण देखाउँदै कार्यक्रममा सहभागी भएनन्। उनको अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न जिज्ञासाहरू उठेका छन्। कार्यक्रममा उनको नाममा सिट सुरक्षित राखिए पनि उनी सचिवालय र पार्टीका बैठकहरूमा खासै उपस्थित नहुने गरेको चर्चा चलेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.