
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि पनि राजीनामा नदिने निर्णय गरेका छन् ।
पार्टीभित्र नैतिकताको आधारमा नेतृत्व परिवर्तनको आवाज उठे पनि उनले अहिले राजीनामाभन्दा चुनावी समिक्षा र पार्टी सुधारलाई प्राथमिकता दिने बताएका छन् । निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेपछि थापामाथि दबाब बढेको थियो ।
उनी स्वयं सर्लाही–४ बाट पराजित भएका थिए भने पार्टीले प्रत्यक्षतर्फ सीमित सिट मात्र जितेको छ । राजीनामाको विषयमा थापाले उपसभापति विश्वप्रकाश शर्मासँग परामर्श गरेका थिए । शर्माको सुझावपछि उनी तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेका हुन् ।
पार्टीका नेताहरुले पनि हारको जिम्मेवारी एक व्यक्तिमा सीमित नगरी सामूहिक रुपमा लिनुपर्ने धारणा राखेका छन् । महामन्त्रीहरु प्रदीप पौडेल र गुरुराज घिमिरेले चुनावी समिक्षा गरेर प्रतिवेदन पठाउन मातहतका समितिलाई निर्देशन दिएका छन् ।
यसैबीच, कांग्रेसभित्र हारको कारणबारे आरोप प्रत्यारोप सुरु भएको छ । विभिन्न पक्षबीच मतभेद देखिए पनि नेतृत्वले अब समिक्षा, एकता र आगामी रणनीतिमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । कांग्रेसले यसका बारेमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।
























