
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित र कमजोर नतिजा बेहोरेपछि नेपाली कांग्रेसभित्र गम्भीर राजनीतिक तरंग उत्पन्न भएको छ ।
पार्टीको नेतृत्व सम्हालेका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा समक्ष बुझाइसकेका छन् । तर, यसका बारेमा औपचारिक घोषणा भने गरिएको छैन ।
पार्टीभित्रै उच्च तहका एक पदाधिकारीका अनुसार चैत ६ गते शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाको राजीनामामाथि औपचारिक छलफल हुनेछ । ‘राजीनामा दिनु सभापतिको अधिकार हो । उहाँले दिनुभएको छ,’ ती पदाधिकारीले भने, ‘तर, स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय केन्द्रीय कार्यसमितिको हो ।’
थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमिति अझै स्थायित्वको संकटबाट गुज्रिरहेको अवस्थामा आएको राजीनामाले कांग्रेसको आन्तरिक राजनीति थप जटिल बनेको छ । गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनमार्फत थापा सभापतिमा निर्वाचित भएका थिए । महाधिवेशनले १ सय ३४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दै पुरानो नेतृत्वलाई विस्थापित गरेको थियो ।
तर, उक्त महाधिवेशनको वैधानिकता सुरुदेखि नै विवादित रह्यो । तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जुन हालसम्म विचाराधीन अवस्थामा छ । यद्यपि, निर्वाचन आयोगले माघ ४ गते थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिँदै अद्यावधिक गरिसकेको छ ।
महाधिवेशन आफैं पनि पार्टीभित्रको गहिरो विवाद र असन्तुष्टिको परिणाम थियो । पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार थापा र शर्माले ५४ प्रतिशत प्रतिनिधिको समर्थन जुटाएर महाधिवेशन आयोजना गरेका थिए । त्यस क्रममा देउवा समूहले निर्वाचनलाई कारण देखाउँदै महाधिवेशन रोक्न खोजेको आरोप लागेको थियो ।
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै नभएर पार्टी नीति र कार्यदिशामा समेत परिवर्तनको संकेत दिएको थियो । थापाले पुरानो नेतृत्वको ‘अलोकप्रियता’ हटाएर नयाँ ऊर्जा र विश्वासका साथ निर्वाचनमा जाने रणनीति अघि सारेका थिए । तर, परिणाम त्यसको ठीक उल्टो आयो।
चुनावी परिणाम कांग्रेसका लागि निराशाजनक रह्यो । प्रत्यक्षतर्फ १८ सिट मात्र जितेको कांग्रेस समानुपातिकतर्फ २० सिटसहित कुल ३८ सिटमा खुम्चिएको छ । सभापति थापा नै आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पराजित भएका थिए ।
उक्त क्षेत्रमा रास्वपाका अमरेशकुमार सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र पाए । थापाको राजीनामालाई धेरैले नैतिक र राजनीतिक जिम्मेवारीको स्वीकारोक्ति मानेका छन् । उनले पार्टीलाई तत्काल नियमित महाधिवेशनतर्फ लैजानुपर्ने आवश्यकता महसुस गर्दै यस्तो निर्णय लिएको बताइएको छ । तर, केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकार गर्छ कि गर्दैन भन्ने विषयमा चासो बढेको छ ।
कांग्रेसभित्र पुरानो र नयाँ समूहबीचको शक्ति संघर्ष अझै समाप्त भइसकेको छैन । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा, निर्वाचनमा आएको कमजोर नतिजा, र नेतृत्वको वैधानिकता सम्बन्धी विवादले पार्टीलाई थप अन्योलतर्फ धकेलेको छ ।
राजीनामा स्वीकृत भएमा पार्टी नयाँ नेतृत्व चयन प्रक्रियामा जानेछ । नत्र थापा नेतृत्वमै सुधारको प्रयास अघि बढ्नेछ । जुनसुकै निर्णय भए पनि कांग्रेस अब गम्भीर आत्मसमीक्षा र पुनर्संरचनाको मोडमा उभिएको देखिन्छ ।
























